लवदेव धामी
धनगढी ,१० माघ / सुदूरपश्चिम तराईका दुई जिल्ला कैलाली कञ्चनपुर लगायत देशभरी तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरोले ज्यादै प्रभावित गरेको छ । बिहान र बेलुकी बाक्लो हुस्सु लाग्ने र दिनभर घाम नलाग्ने कारण दैनिक कामकाजमा समस्या भएको छ।
बाग्लो हुस्सुसँगैको शीतलहरले आफुहरुको दैनिक जीवनमा ठूलो समस्या पारेको स्थानीयहरुले जानकारी दिए। साना बच्चादेखि लिएर वृद्धवृद्धालाई बाक्लो हुस्सु र शीतलहरले समस्यामा पारेको छ भने विद्यालय जाने बालबालिका लाई यसले थप चुनौती दिएको छ।
बाक्लो हुस्सु र शीतलहरले सवारी साधनहरूमा यात्रा गर्न पनि प्रतिकूल अवस्था सिर्जना भएको छ ।
मौसम विद् सरोज लामिछानेका अनुसार , देशभरिका अधिकांश तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरोसँगै शीतलहर छ भने, पहाडी जिल्लाहरूमा मौसम सामान्यता सफा र उच्च हिमाली क्षेत्रमा भने हिमपात भइरहेको छ ।
साथै आज कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लाका केही स्थानहरूमा छिटफुट वर्षा हुने र भोलिदेखि क्रमिक रूपमा मौसम सफा हुँदै जाने छ , भने तराईका जिल्लामा भने केही दिन अझै बाक्लो हुस्सु र कुहिरो सँगै शीतलहर चल्ने मौसमविद लामिछानेले जानकारी दिए।
