कविता
मान्छेको स्वरुप भएको
त्यो राक्षसरुपि मान्छे
देख्ने बित्तिकै डरले
थरथर काप्न थाले म
फूलहरुको बगैंचामा
रमाउदै गरेकी म
एक नाबालिक
के थाहा थियो र मलाई ?
आजकल राक्षस हुदैनन्
राक्षसका नाउमा
राक्षसका ठाउँमा
त्यहीँ मान्छे हुन्छन् भनेर
जब त्यो डरलाग्दो मान्छेले
मेरो फक्रदै गरेको जवानी
चुड्ने दाउमा मेरो नजिक आयो
म खसे झैं भए आकासबाट पातलमा
म डुबे झैं भए प्रशान्त महासागरको गहिराइमा
सिङ्गो पृथ्वी नै आएर मेरो,
छातीमा च्यापिएको जस्तो
नौ रेक्टर स्केलको भूकम्पले
जमिन हल्लाएको जस्तो
ज्वालामुखी विस्पोटन भए जस्तो
पहाडका भित्ताहरु चिराचिरा परेको जस्तो
योनीबाट कर्णाली बगे झैं रगत बग्न
थालेको जब देखेँ यी आँखाले मैले
तब आँखाबाट आँसुका अस्त्रहरु
झरना झैं बनेर बग्न थाले
मेरो चिच्यावट न जमिनले सुन्यो
न आकाशमा स्वतन्त्रताको साथ उड्दै
गरेका चराहरुले सुने
न त आफ्नो गन्तव्यमा निस्किएका एक हुल
मानिसले नै सुने
सुनेनन् कसैले
देखेनन् कसैले
म बलत्कृत भइसकेपछि
बल्ल देखे ती चराहरुले
बल्ल महसुस गर्यो जमिनले
बल्ल सुने सबैले
बल्ल देखे सबैले
एक कोपिलाको अस्तित्व हरण हुँदासम्म
यो अस्तित्व जोगाउन आएन कोही
आए एक बथान मान्छे
कोपिला चुडिएको हेर्न
कोपिलाको रस चुसिएको हेर्न
र आए
निकै हर्षको साथ हेर्न भनेर
बलत्कृत नाबालिक १
सर्जक:- विक्रम तिरुवा सलिन, जुम्ला