काठमाडौँ- बाराको गढीमाईमा भइरहेको पञ्चवर्षीय मेलाबाट सिराहा फर्कँदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गएराति बा१६च ३१६२ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी सिरहाको अर्नामा नगरपालिका–३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको ज्यान गएको प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए ।
दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेवी महरालाई उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । उक्त जिप अनियन्त्रित भई रुखमा ठोक्किएको थियो ।