धनगढी, १३ मंसिर / बैतडीको श्रीकोट बहुमुखी क्याम्पसले १ महिना सम्म सिपमूलक तालिम सञ्चालन गर्ने भएको छ। क्याम्पसमा गैर क्रेडिट पाठ्यक्रम अन्तर्गत बाँस, निगालाको सामग्री निर्माण सम्बन्धी छोटो अवधिको निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो।
प्रत्येक दिन २ घण्टाको हिसाबले सञ्चालन गरिने उक्त तालिम ३० दिनसम्म रहने छ। क्याम्पसले यही महिनाको १७ गतेबाट तालिम सञ्चालन गर्ने गरी तयारी गरेको क्याम्पस संचालक समितिका अध्यक्ष जय देव जोशीले जानकारी दिए ।
साथै उक्त तालिममा सहभागी हुन चाहने इच्छुक विद्यार्थीहरूले यही महिनाको १५ गतेसम्म क्याम्पस प्रशासनमा नाम दर्ता गराउन समेत सूचित गरिएको क्याम्पस प्रमुख दान सिंह कार्कीले जानकारी दिए।
तालिम मङ्सिर १७ गते बिहान ११ बजेबाट क्याम्पसमै सञ्चालन हुने तयारी भएको र यस तालिमबाट स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थको उपयोग गरी विभिन्न किसमका सजावटका समाग्रीहरु निर्माण गरेर आर्थिक उपार्जनका काम गर्न सकिने भएकाले युवाहरुका लागि उपलब्धि मूलक हुने अनेरास्ववियुका जिल्ला उप -सचिब तथा विद्यार्थी एनआरएन अवस्थीले बताए ।

