…पुराना आइवारी दाइ
गाउँमा देख्दा
सधै मन मस्तिस्कमा
मट्कौनाको
त्यो चित्रण घुमिरहन्छ
मङ्रराले चाका खेमराज लामाघरका श्याम
अनि बेहटाका दीपकलाई
पकट देम भनेर लखेटेको
अझै दिमागमा घुमिरहन्छ ।
कल्लु, गभ्भा, मगरा र अन्ना
ती नाम साच्चै अर्गानिक थिए
उता जुठे र भार्सेको कहानी गजव थ्यो ।
बेलाबेला बम्मे दाइ
गाउँ फर्केर आउदा
साइकलको हेण्डिलमा
छाति राखेर, हातले पाइडल चलाउँथे
ती सब अचेल फिलिम रिल जस्तै
मस्तिष्कमा घुमिरहन्छन् ।
भलिवल कोर्डको नजिकै
मूल खनेर पानी निकाल्न
माहेर थे छिमेकी छोट्का दाइ
हरेक दशैमा
भलिबलको म्याचमा
अण्डैया आउनै पर्थ्यो
झिलण्डी खेलेर गेम हापेरै फर्कन्थ्यो
दाइहरु अम्पायर बोकेर
अण्डैयालाई फकाउन जान्थे
नदीको ढिकमा सहमति हुन्थ्यो
अण्डैया गेम खेल्न राजी भई फर्कन्थ्यो
ती दिन साँच्चै रमाइला थे
छुर, टिनटिक्की, सिट्टाफोर
गुल्ली डण्डी, गोट्टी, गुच्चा र खोप्पी
ती खेल हाम्रा दैनिकी थिए ।
त्यो खल्ला, डुमरेकुट्टा, बैरेनी र दोपट्टी
मट्कौनाबासीका प्रिय स्थल थे
अमल्से पानीको घाँस
घँसारीको प्रिय थियो
आज ती विगतका स्मरणहरु
धुमिल बनेर
यासिका क्यामेराको
रिल जस्तै अँध्यारो कोठामा धुलिँदैछन् ।
सर्जक : पुष्पराज जोशी ‘पुकार’
मट्कौना कैलाली