लवदेव धामी
धनगढी ५ मङ्सिर / पानीघट्ट हाम्रो पुर्खादेखि आजसम्मको एउटा पिसानीको सबैभन्दा उत्कृष्ट मानिएको र पुर्खाले छोडेर गएको नासो हो। पुर्खाले बनाएको वैज्ञानिक मान्यता बोकेको दुईवटा ढुङ्गा हरुले बनेको पानीबाट चल्ने पिसानीको एक साधनका रूपमा हामीले घट्टलाई चिन्ने गर्छौं । पछिल्लो समयमा घट्टको प्रयोग धेरै जसो गाउँघरमा घट्दै गएता पनि कुनै कुनै ठाउँमा पसनीघट्ट अझै प्रयोगमै रहेका छन् ।
पछिल्लो समयमा कुटानी पिसानीका लागि गाउँमा विद्युतबाट चल्ने मिल पनि छन् तर पानी घट्टमा पिसेको पिठो स्वादिलो हुने भएकाले स्थानीयबासी घट्टमै पिठो पिस्न लैजाने गर्छन्। स्थानीयस्तरमा उत्पादन हुने कोदो, मकै, गहुँ, फापरलगायत अन्य अन्न पिस्न स्थानीयहरु पानीघट्टको नै प्रयोग गर्न राम्रो मान्छन् । परम्परागत रुपमा अन्न पिसानीका लागि घट्ट, जाँतो, ओखल तथा ढिकी प्रयोग हुने गर्थे। यी सबै मध्ये पनि पानीबाट धेरै प्रयोग हुने पिसानीको साधन मानिन्छ साथै पुर्खाहरुले प्रयोग गरेको पानी घट्टले पिसेको पिठो नै स्वादिलो हुने ,पौष्टिक तत्व खेर नजाने भएकाले पनि पानीघट्ट बहुउपयोगी र हितकारी मानिन्छ।
गाउँघरमा विशेषगरी सबैको एउटै साझा घट्ट हुने भएकाले पनि गाउँभरिको भाइचारा माया प्रेम विश्वास र सद्भावनालाई जोगाई राख्न पनि घट्ट को ठूलो भूमिका रहेको पाइन्छ। समूहमा मिलेर पानी ल्याउने कुलो सफा गर्ने घट्ट बनाउने फेदडो ल्याउने जस्ता काम सामूहिक रुपमा हुने भएकाले र सबैले आफूले सक्ने खालको काम गर्ने , यसका साथै यसमा लगानी समेत धेरै नपर्ने र स्थानीय स्तरकै मिस्त्रीहरूले निर्माण गर्न सक्ने भएकाले पनि घट्ट स्थानीय स्तरमा धेरै प्रयोगमा आएका थिए।
पछिल्लो समयमा घट्टको प्रयोग अलिक कम भएको पाइन्छ। शहरमा त पहिलेदेखि नै मिलहरू सञ्चालनमा थिए र घट्टको बारेमा त्यति थाहा नहुन सक्छन् तर गाउँमा पनि आजभोलि बढी विद्युतीय मिलहरू नै प्रयोगमा आएकाले पानीघट्टको प्रयोग बिस्तारै घट्दै गएको छ। आजभोलिका युवालाई विशेषगरी घट्ट बिग्रिएपछि बनाउनै नआउने भएकाले पनि घट्ट सञ्चालनमा आउन सकेका छैनन् । साथै घट्टमा सामूहिकता आवश्यक पर्छ तर पछिल्लो समयमा सबै आफआफ्नै काममा व्यस्त हुने प्रवृत्ति बढेको र सामूहिक कामहरुमा कसैले चासो नदिने भएकाले पनि पानीघट्ट लोपोन्मुख हुने अवस्थामा पुगेका छन्। पानी घट्ट लोपोन्मुख हुनुमा समाजमा रहेको भाइचारा सामूहिकता र एकता सबै बिस्तारै घट्दै गएको भान गराउँछ। पानीघट्ट एउटा पिसानीको साधन मात्रै नभएकाले सामूहिकताको प्रतिक समेत भएकाले पानीघट्ट लोपोन्मुख हुनुमा समाजमा भएको सामूहिकता र एकता घटेको अनुमान समेत गर्न सक्छौँ ।
पानीघट्ट कसरी चल्छ?
सर्वप्रथम नदीमा ड्याम बनाएर त्यहाँबाट कुलो वा नहर निकालिन्छ। र पायक पर्ने ठाउँसम्म नहरमा पानी ल्याएपछि एउटा घट्टको लागि दुई तलाको सानो घर बनाइन्छ। जसमा तल फेदडो (काठै काठबाट बनेको साधन ) र माथिको तलामा दुईवटा घट्ट राखिन्छ। आधुनिक मिलहरूको तल्लो भाग नाचेजस्तै पानी घट्टको माथिल्लो भाग नाच्ने गर्छ। घट्टको तल्लो ढुङ्गालाई त्यसैमा सेट गरिन्छ भने माथिल्लो ढुङ्गालाई तलबाट आएको फेदडाको टुप्पोमा फलामको (काइ्यो र ब्य) प्रयोग गरेर अड्काइन्छ। त्यसपछि एकदमै साघुँरो काठको पनालो बनाएर तलको फेदडो घुमाउन पानी लगाइन्छ। पानीले फेदडो घुमाएपछि माथिको घट्ट नाच्ने गर्छ।फेदौडाकै तल्लो भागबाट ढुङ्गाले दबाएर काठको लाम्चो फल्याक माथि घट्टको नजिकै पुगाइन्छ , त्यो मसिनो मोटो पिठो बनाउन प्रयोग गरिन्छ।
यसपछि पिठो पिस्न जाँदा हातले हालेर पिस्न गाह्रो हुने भएकाले त्यो समस्या समाधानका लागि घट्टको माथि डाली९चोयाबाट बनाइएको साधन( बाँधिने गरिन्छ र डालीमा गेडा९गहुँ, मकै) हालेर बिस्तारै आउने गरेर पिस्ने गरिन्छ, यसरी पानी घट्टले पिठो बनाउने गर्छ।
समयसँगै हामी पनि फेरिएकाले अब पानी घट्टको प्रयोग प्रायः कमै हुने देखिन्छ। यो समयसँगैको एउटा नयाँपन त हुन सक्छ तर हाम्रो इतिहासको भनौँ या पुर्खाको नासोको लोपन्मुख हुने अवस्था हो। त्यसैले अब आउने पुस्तालाई अर्थात् हाम्रा भावी सन्ततिलाई पानीघट्ट के हो भनेर बुझाउनको लागि भएपनि घट्टको फोटो खिचेर सङ्ग्रहालयमा राख्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले हाम्रा प्राचीन वैज्ञानिक सम्पदालाई जोगाई राख्नु हामी सबैको कर्तव्य भित्र पर्दछ ।
यस्तै अन्य हाम्रा कुटानी पिसानीका साधनमा जाँतो, ओखल पनि अधिक प्रयोगमा आउने गर्थे जुन बिस्तारै हराउँदै गइरहेका छन्। यी सबै परम्परागत वैज्ञानिक मान्यताका साधनहरूको संरक्षण र सम्बर्धन गर्दै भावी पुस्तालाई समेत यी प्राचीन सम्पदाबारे जानकारी दिनु हाम्रो नितान्त कर्तव्य हुन आउँछ।