धनगढी ९ मङ्सिर/ कैलाली बहुमुखी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरूले एक दिने भ्रमण गरेका छन्। नेपाल टेलिभिजनको क्षेत्रीय कार्यालय बाँके कोहलपुरमा र कोहलपुरमै रहेको गोरखा संस्थानको कार्यालयमा गएर भ्रमण गरेका हुन्।
पाठ्यक्रममै रहेको कोर्स अनुसार कैलाली बहुमूखी क्याम्पसमा अध्ययनरत पत्रकारिता विषयका पाँचौं सेमेस्टरका विद्यार्थीहरूको आयोजनामा र अन्य सेमेस्टरमा अध्ययनरत विद्यार्थीको सहकार्यमा फिल्ड भ्रमण गरिएको पत्रकारिता विषयका प्राध्यापक टेकेन्द्र देउबाले बताए। इलेक्ट्रोनिक मिडिया अन्तर्गत रेडियो हाम्रो यस क्याम्पसमै रहेको तर टेलिभिजनका उपकरणहरू देखाउनको लागि यहाँ त्यस्तो वातावरण नभएको कारणले पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई नेपाल टेलिभिजनको क्षेत्रीय कार्यालय कोहलपुर लगेर स्थलगत अध्ययन गरिएको उपप्राध्यापक देउवाले बताए।
स्थलगत भ्रमण गरिसकेपछि विद्यार्थी हरुलाई झन् पढाइप्रति रुचि जागेको र आगामी दिनमा आफूहरूले पनि पत्रकारिता क्षेत्रमा केही न केही योगदान गर्नुपर्ने आभास भएको विद्यार्थी जयन्त सिंह भाटले बताए।
स्थलगत अध्ययन गर्दा विद्यार्थीहरूलाई थप सिकाई हुने भएकाले र पढाइप्रति केही नयाँ आयाम थपिने भएकाले पनि स्थलगत भ्रमणमा लगिएको पत्रकारिता विषयका अर्का उपप्राध्यापक सन्तोष पाण्डेले बताए।