यमुना साउद । धनगढी, १ मंसिर । पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने खुटीया नदि किनार छेउमा एकाबिहानै कैलालीको गोदावरी नगरपालिका–८ स्थित ६० वर्षीय तारा धामी गिट्टी कुट्दै गरेको भेटिइन् । उमेरजति बुढो भए पनि उनका कर्मशील हात भने गिट्टी कुटिरहेका थिए ।
गिट्टी कुटेर दैनिकजसो दुई तिन हजार रुपैयाँ जति कमाउने गरेको उनको भनाइ छ । दर्जन बढी परिवारको सङ्ख्या भएकी तारा अहिले बाँच्नका लागि गिट्टीको सहारा लिन बाध्य भएको बताउँछिन् ।
धोइदिन्या कोइछैन, टोपी मैली धोती मैली धोइदिन्या कोइछैन,
रोइदिन्या कोइछैन, परदेश मरन्याको रोइदिन्या कोइछैन….
यस्तै यस्तै ठाडीभाका घन्कीरहेको थियो । उनी यस्तै भाका सुन्दै काममा मस्त थिइन् । उनलाई काम बाहेक कुनै कुराको प्रवाह छैन ।
उनले भनिन्, ‘छोराहरू कमाइ गर्न भारत गएका छन्, छोरी सबैको विवाह भइसकेको छ’, हात नचलाए खाना पाइँदैन । म बुढी भए पनि मेरो काम बुढो हैन । काम नगरी बस्न सक्दैन । काम भएपछि दिन भरि काममै भुलिरहन्छु ।’
उनीजस्तै, गोदावरी नगरपालिका–१० ओल्यानीकी ४६ वर्षीय मोती कला वि.क पनि गिट्टी कुटिरहेकी थिइन् । ‘दिनभरि कुटेको गिट्टीबाट मुश्किलले कहिलै ५ हजार रुपैयाँ हुन्छ, कहिलै ४ हजार ।’ दैनिक गिट्टी कुटेको रकमबाट छोराछोरीको लालनपालनदेखि घरायसी खर्च जुटाउन गाहे भएको उनले बताइन् ।

उनले भनीन् ‘बस्नलाई घर छैन । कोठा भाडामा लिएको छु , छोराछोरी पढाउन सकेको छैन , १२ बर्षको छोरीलाई पढाउने खर्च नभएर घरमै बसेको छ । खानलाई त धौ धौ त कसरी पढाउनु ।’
उनको साथमा २ छोरी एउटा छोरा छन् । एउटा छोरा कामको सिलसिलामा भारतमा छन् । ‘सानै उमेरमा उनको विवाह भयो । पहिले पहिले घरका मान्छेले भनेकै मान्छेसंग बिहे गर्नु पर्थो, नाई भन्न पनि सकिएन , अहिले बुढाको मृत्यु भयो । अब मलाई छोराछोरी हुर्काउन, पाल्ल समस्या भईरहेको छ ।’