१७ , असोज / दुईजना साथी थिए; बाटोमा हिँड्दै गर्दा दुवैजनाको नजर एउटा महँगो कारमा सवार सुटबुट सहित सजिएको व्यक्तिमा पर्छ। दुवैजनाको मनमा उ जस्तै बन्ने अभिलाषा जाग्छ। ती दुवैजनामध्ये एउटा बुद्धिमत्ताको प्रयोग गरी विभिन्न व्यक्तिको सरसल्लाह लिएर हरेक कार्यमा कौशलता देखाउथ्यो भने अर्को बिना सुजबुझ अहम भावमा कुनै पनि कार्य गर्थ्यो। उक्त कारलाई दुवै जनाले देखिसकेपछि सुझबुझ भएको व्यक्तिले भन्छ त्यो कार सवार व्यक्ति जस्तै बनेर देखाउनुपर्छ र अर्कोले पनि अँ बन्नुपर्छ भन्छ। त्यहाँबाट दुवैजना छुट्टिन्छन् घरमा गइसकेपछि दुवैको मनमा धनी बन्ने अभिलाषाले हलचल मच्चाइरहेको हुन्छ।
बुद्धिमान व्यक्ति सोच्छ त्यो व्यक्ति कसरी त्यस अवस्थासम्म पुग्यो होला। कसरी कार र सुटबुट सहित सजी सजावट भएर हिँड्ने अवस्थामा पुग्यो होला। त्यो अवस्थामा पुगुन्जेल उसले के के दुःख संघर्ष गर्यो होलारु सुझबुझ भएको व्यक्ति यी प्रश्नको उत्तर खोज्न त्यो व्यक्तिलाई भेट्न गयो र उसका सफलताका लागि गरिएका घतलाग्दा संघर्षका कुरा सुनेर घर फर्कियो। दोस्रो दिनदेखि मिहिनेत र अत्याधिक संघर्ष अनि सम्बन्धित व्यक्तिहरुसँगको उचित सरसल्लाहले छोटो समयमै धनधान्ययुक्त सुखशैलको जीवन भोग गर्ने अवस्थामा पुग्यो।
एक दिन उसको भेट त्यही साथीसँग भयो। ऊ त्यो बेला उदास भोकाए जस्तो गरिबी र जीर्णावस्थामा थियो। त्यो देखेर सुझबुझ भएको साथीले यो अवस्थामा कसरी पुग्यौ भनी सोध्दा उत्तरमा उसले भन्यो ,धनी बन्ने उच्च अभिलाषाले गर्दा अलिकति आफूसँगको जम्मा पैसा र बाँकी ऋण पैसा लिएर बिना कसैको सरसल्लाहमा गाडी मोटर किने। ऐयासीको जीवनयापन गर्न थाले कसैसँग सरसल्लाह लिन मेरो अहमता र घमण्डले दिँदैनथ्यो। जे हुँ मै हुँ भन्ने भावना ममा व्याप्त थियो। केही निर्णयका लागि पनि किन अरुलाई सोध्नु पर्यो किन सल्लाह लिनुपर्यो सोधिहाले भने पनि तिनीहरूको भाउ मात्र बढ्छ भन्ने सोच ममाआइरहन्थ्यो। त्यही सोच , बिना सुझबुझको घमण्डले काम गर्दा खेरि त्यो ऐयासी धेरै दिन टिक्न सकेन। ऋण बढ्दै गयो आयआर्जनको स्रोत केही भएन। अन्तिम अवस्थामा घरजग्गा साधन बिक्री गरेर रोडमा बस्नुपर्ने अवस्था आयो।
उक्त लघुकथाका माध्यमबाट कसैलाई देखेर ऊ जस्तै बन्नका लागि उसको मिहिनेत र परिश्रम पनि देख्नु आवश्यक हुन्छ। बुद्धिमताको समुचित प्रयोगले बिना घमण्ड र अहम भावले हरेक कार्य सहजतापूर्वक गर्न सकिन्छ। घमण्डले गर्दा मान्छेका आँखा बन्द हुन्छन् तर एकदिन त्यही घमण्डले दिउँसै आकाशमा तारा देखाइदिन्छ त्यसकारण मानव जीवन अहंकार मुक्त सुझबुझयुक्त हुनुपर्छ यही नै जीवन सार्थकताको प्रतिक हो।
लेखक : लोकराज भट्ट , कैलाली बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायमा अध्ययनरत हुनु हुन्छ ।
