बैतडी, १६ असोज / जिल्ला अस्पतालबैतडीको एम्बुलेन्स दुर्घटना परेको छ । बैतडीबाट डडेल्धुरा जाँदै गरेको जिल्ला अस्पताल बैतडीको एम्बुलेन्स दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका –८ खोड्पे नजिकै दुर्घटनामा परेको हो ।
बैतडीको देहीमाण्डौंबाट एक गर्भवती महिलालाई बोकेर डडेल्धुरा अस्पताल जाँदै गरेको सु.प.प्र.०१००१ ह ४०४ नम्बरको एम्बुलेन्स बुधबार दिउँसो २ बजेतिर सडक छेउमै पल्टेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए । एम्बुलेन्समा ती महिलाका दुईतीन जना आफन्त पनि सवार रहेका बताइएको छ ।
प्रहरीका अनुसार एम्बुलेन्समा सवार सबै सकुशल रहेका छन् । एम्बुलेन्स नालिबाट निकालेर अहिले खोड्पे प्रहरीचौकीमा राखिएको छ ।
एम्बुलेन्स चालक नियन्त्रणमा रहेका र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
