धनगढी , ११ असोज / सुदूरपश्चिमसहित देशभरका अधिकांश स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । देशभर मनसुनी वायुको प्रभाव छ । साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि नेपालमा छ । हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार सुदूरपश्चिमका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको हो । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानहरूमा भारी वर्षाको सम्भावना तथा यी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जनचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।