७, असोज / उसको र मेरो सम्बन्ध गज्जबको छ। म थाकेर निराश हुँदै सुस्केरा हाल्दा उसले भन्छ ए उठ् मलाई हेर म थाकेको छु ? म निराश भएको छु? म रोकिएको बेला ऊ भन्छ , किन रोकिएको म कहिल्यै रोकिए सधैं अघि बढिरहेको छु? तैले पनि रोकिनु हुँदैन। म रोइरहेको बेला भन्छ, मैले यति दुःख पीडा सहेँ तर पनि कहिल्यै रोएको देखेको छस्रु सधैं हाँसिरहेको हुन्छु। तँ किन रोएको तेरो ओठको मुस्कान हराउनु हुन्न। म आफूलाई तब ऊर्जावान् महसुस गर्छु जब उसको कुरा सुन्छु।मेरो मन मस्तिष्कमा उसका कुराले हलचल मच्चाइदिएको हुन्छ र म आफूलाई सक्षम, आटिलो ठान्न बाध्य हुन्छ।
ऊ कहिल्यै थाग्दैन सधैँ अटल भएर उभिरहन्छ न कुनै थकान न कुनै विश्राम। बस् निर्धक्कसँग आफ्नो अस्तित्व जोगाएर अटल बनेर उभिरहन्छ। ऊ कहिल्यै रोकिँदैन निरन्तर बाधा अवरोधहरूलाई छेक्दै आफ्नो लक्ष्यलाई पछाइरहेको हुन्छ लक्ष्यहीन महसुस गर्ने म उसलाई देखेर जीवनको लक्ष्य बोध हुन्छ र पुनः पाइला अघि सार्छु बस् उसको सिको गर्दै। हावा, हुरी ,पानी, असिना ,चिसो, तातो हरेक परिस्थितिको सामना गर्दै उसलाई हाँसिरहेको देख्दा पुनः यी निराश ओठहरूमा हाँसोरुपी टुसा पलाएर आउँछन् र आफ्नो जटिल परिस्थिति पनि उसले भोगेका कष्ट दुःखका अगाडि सामान्य लाग्छन्।
अटल रही आफ्नो अस्तित्व जोगाइराखेको हिमाल, असह्य दुःख सहेर पनि मुस्कुराइरहेको फूल, विभिन्न बाधा र अवरोधको सामना गर्दै निरन्तर बगिरहेको नदी मेरा हौसलाका पात्र र जीवनका असल मित्र बन्ने गरेका छन्। त्यसैले जबसम्म मेरा हौसलाका पात्र रहन्छन् तबसम्म स्वयंको अस्तित्वबोध मलाई भइरहने छ। प्रकृतिसँगको मित्रताले जीवनका हरेक परिस्थितिको सामना गर्न ममा हौसला मिलिरहेको छ। म हराउन लाग्दा सुस्तरी सुस्तरी मेरा कर्णमा वायुको माध्यमबाट आवाज गुञ्जयमान हुन्छ र त्यसपछि मात्र म आफूलाई आफैमा भेट्छु।
कहिलेकाहीँ त हिमाल रोएको देख्छु र सोध्छु ,किन रुन्छौ तिमीरु हिमाल मुस्कुराउँदै जवाफ दिन्छ, म नरोएँ भने अरुले कसरी थाहा पाउलान् कि रुवाइले कमजोर होइन बलियो बनाई कर्तव्यमा अटल दृढ बनाउँछ भनेर। ओइलाएको फूल देख्दा हिजोसम्म हाँसिरहेको तिमी आज किन हर्षित सुन्दर रूपरङ्ग आकारलाई उदासीिनतामा बदलेको भनेर सोध्छुसअनि उ मधुर स्वरमा अभिव्यक्ति दिँदै भन्छ,मित्र मैले रुप, रङ ,आकार बदलेर उदासिनता भाव प्रकट नगरेको भए धेरैले आफूलाई अजम्बर अमर र अपरिवर्तनशील ठान्थे र नश्वरताको बोध उनीहरूमा कहिल्यै हुने थिएन जसले गर्दा प्राणीमा अहमतावादी दृष्टिकोण व्याप्त हुन्थ्यो।
लेखक : लोकराज भट्ट , उहाँ कैलाली बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकाय चौथो सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ……