धनगढी, ६ असोज / कैलाली र कञ्चनपुरका छुट्टाछुटै स्थानबाट ३२ लाख बराबरको भन्सार छलिका सामान बरामद गरिएको छ । प्रहरीले शनिबार मात्रै कैलालीका धनगढी, गोदावरी, भजनी, र कञ्चनपुरका भीमदत्त नगरपालिका, बेलौरी, बेलडाँडीबाट उक्त रकम बराबरको समान बरामद गरेको हो ।
प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका – २ ट्राफिक चौराहा र बैँयाबेहडी, धनगढी उपमहानगरपालिका – ९ त्रीवेणीघाट, गोदावरी नगरपालिका – १ अत्तरिया, भजनी नगरपालिका – ३ ठेकीपुल र भजन नगरपालिका – ७ हिक्मतपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका २ लाख ८० हजार ३८ बराबर सामान बरामद गरिएको छ । जसअन्तरगत प्याज, चिनी, मसला, बिडी, सुर्ती, सुटपिस, थान कपडा, साडी, कुर्ती, प्लाष्टिक डोरी, प्लाष्टिक झिल्ली लगायतका सामानहरु बरामद गरिएको छ ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका – २ भासी, भीमदत्त नगरपालिका – ४ बसपार्क, चम्मनचोक र बसपार्क पछाडी, भीमदत्त नगरपालिका – १० गज्जर, भीमदत्त नगरपालिका – ११ बिधुत कार्यालय नजिक, बेलौरी नगरपालिका – १० भुडा र बेलडाँडी गाउँपाकिला – ५ गड्डाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २९ लाख २१ हजार ५९० रुपैयाँ बराबरका सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
जसअन्तरगत पाईन्ट, सर्ट, साडी, सुटपिस, थान कपडा, मोबायल कभर, थेरापी मेशिन, प्लाष्टिक डिब्बा, दाल, पाँपड, बिडी, सुर्ती, खानेतेल, चिनी, हार्डवेयर सामान, स्टेसनरी, कस्मेटिक, किराना लगायतका सामानहरु रहेको प्रहरीको भनाइ छ ।