धनगढी,२ असोज । कैलाली र कञ्चनपुरमा प्रहरीले झण्डै साढे ८ लाखको अवैध सामान फेला पारेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार दुबै जिल्लाका विभिन्न स्थानमा ८ लाख ३३ हजार ६७५ मूल्य बराबरको अवैध सामान प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका(२ ट्राफिक चौराहा र हल्दुघाट, धनगढी(७ बेली र मनेहरा, धनगढी(९ त्रीवेणीघाट, धनगढी(१० जुगेडा, धनगढी(१२ कम्पनी टोल, भजनी नगरपालिका(१ गोदावरी चोक, भजनी(३ फडरिया र भजनी(७ हिक्मतपुर र चर्राबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ५ लाख ३१ हजार १९७ मूल्यको सामान बरामद गरिएको प्रहरीले बताएको छ ।
चिनी, सरप, बिस्कुट, सुर्ती, पटका, तरकारी, दाल, खानेतेल, सुटपिस, कुर्ती, गन्जी, फ्राक, मोटरसाइकलको सिट कभर, क्लोज ब्रेक कभर, हर्न, मोटरसाइकल एक थान लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएको छ ।
त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका(११ चौकिसत्ता, बेलौरी नगरपालिका(६ हात्तिबोझा र नकैयाबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३ लाख २ हजार ६७५ मूल्यको स्टेसनरी, हार्डवेयर, कस्मेटिक, साइकल, किरानाका सामान, मिठाइ, जुत्ताचप्पल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।
