धनगढी ३१ भाद्र/कैलालीको धनगढी उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिका आइतबार जिल्लाको कैलारी गाउँपालिकाको हसुलियादेखि गोदावरी नगरपालिकाको अत्तरिया रुटमा नगर बस सेवा सञ्चालनमा ल्याएको हो ।आइतबार फूलबारी बसपार्कमा एक कार्यक्रमको बिच नगर बस सेवाको उद्घाटन गरिएको छ । ६ वटा बसबाट नगर बस सेवा सुरु गरिएको छ ।
एक कार्यक्रमका बिच फुलवारी बसपार्कबाट उप प्रमुख कन्दकला रानाले हरियो झण्डा देखाउँदै बस सेवा औपचारिक रुपमा शुभारम्भ गरेकि हुन् । ग्रामीण भेगलाई सहरसँग जोड्न र ग्रामीण जीवनलाई चलायमान बनाउन नगर बस सेवा चलाउन खोजेको उपमहानगरका मेयर गोपाल हमालले बताए । ग्रामीण क्षेत्रबाट विद्यालय, कलेज, अस्पताल र बजार आउन सहज होस् र गाउँमा उत्पादित बस्तु बजार ल्याउन सहज होस् भनेर नगर बस चलाउन खोजिएको उनले बताए ।
उपमहानगरले धनगढीकै के एण्ड के कन्स्ट्रक्सनले नगर बस सेवा चलाउने ठेक्का पाएको छ । असोज १ गतेदेखि सुरु हुने नगर बस सेवा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चल्ने छ । नगर बसमा विद्यालय खुलेको दिन धनगढीका बाल विकास शिक्षक शिक्षिकाले भने निःशुल्क यात्रा गर्न पाउनेछन् । धनगढी उपमहानगरपालिकाले खरिद गरेको ६ बसबाट कैलारी गाउँपालिकाको केन्द्र हसुलिया–धनगढी र गोदावरीको अत्तरियासम्म नगर बस सेवाको रुट तोकिएको छ ।
नगढीकै के एण्ड के कन्स्ट्रक्सनले वार्षिक २८ लाख ८८ हजार ९१९ रुपैयाँमा नगर बस सेवा चलाउने ठेक्का पाएको उपमहानगरका राजश्व शाखा प्रमुख डिल्लीराज ओझाले बताए । उनले करिब ७ किलोमीटर दुरीमा २० रुपैयाँ तिरेर नगर बसमा यात्रा गर्न पाइने जानकारी दिए । २०८१ असोज १ गतेदेखि सुरु हुने नगर बस सेवाको न्यूनतम भाडादर २० रुपैयाँ तोकिएको छ । हरेक दिन हसुलियाबाट ६ बजे बस छुट्ने छ । त्यसपछि हरेक ३० मिनेटको अन्तरालमा बस छुट्ने व्यवस्था मिलाइने छ । नगर बस रोकिने स्थानको तय उपमहानगर र कम्पनीले गर्नेछन् । तोकिएको स्थानमा मात्रै यात्रु झर्ने र चढ्ने व्यवस्था मिलाइने बताइएको छ ।
उपमहानगरपालिकाले खरिद गरेका ६ वटै नगर बसमा सिसिटिभी र जिपिएस जडान गरिएको छ । यात्रु र तिनले बोक्ने सामानको सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ । यस्तै, बस आएको घरबाटै थाहा पाउन र चढ्ने स्थानमा ठिक समयमा पुग्न सहज गर्न जिपिएस प्रणाली जडान गरिएको हो । हसुलिया देखी फुलवारी क्षेत्रका नागरिकलाई नगर बस सेवाले सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ ।