कैलाली, २८ भदौ / अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका कारण धनगढी—डडेलधुरा (भीमदत्त) , डडेलुध—दिपायल (केआईसिंह) , बुडर—जोगबुढा सडक, खोड्पे—बझाङ(जयपृथ्वी) राजमार्गमा आवागमन अवरुद्ध भएको छ ।
यसैगरी डोटीको जोरायल सडक,र सहजपुर —बिपीनगर सडकमा पनि गएको पहिरोले बाटो अवरुद्ध भएको छ । राजमार्गमा गएको पहिरोका कारण गन्तव्य तर्फ हिँडेका यातायातका साधन बीचबाटैमै रोकिएका छन् ।
कैलालीको अत्तरियास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले वर्षासँगै गएरातिदेखि विभिन्न राजमार्गमा गएको पहिरोले राजमार्गमा आवागमन अवरुद्ध भएको जनाएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका सात जिल्लालाई जोड्ने भीमदत्त राजमार्गको छरसात ठाउँमा पहिरो जाँदा यातायात आवागमन अवरुद्ध भएको छ । आज मध्यान्हनसम्म यो राजमार्गको कतिपय ठाउँको पहिरो पन्छ्याइएको छ ।