गणेश क्षेत्री/टीकापुर ५ भाद्र/ कैलालीको टीकापुर क्षेत्रमा पर्ने नेपाल भारत सिमा खक्रौलामा मदिरा सेवन गरी अटो चालकलाई कुटपिट गर्ने चार जना महिला पक्राउ परेकी छन् ।
खक्रौला नाका हुँदै भारतीय बजार सामान खरिद गर्न जान लागेको बताउने ति महिला समुहले मादक पदार्थ सेवन गरेर अटो चालकलाई कुटपिट गरेको प्रहरी चौकी कालाकुन्डाका इन्चार्ज प्रहरी नायब निरीक्षक बिसनदत्त भट्टले जानकारी दिएका छन् ।महिलाहरू मदिराले मात्तिएर प्रहरीलाई समेत जाइलागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
कुटपिट गर्ने महिलाका विरुद्ध अटो चालक टीकापुर ९ खक्रौलाकी विष्णु चौधरीले आफूलाई कुटपिट गरी चोटपटक लागेको भन्दै भनेर उजुरी दिएकी थिईन् । पक्राउ परेका महिलालाई इलाका प्रहरी कार्यालय टीकापुर बुझाएको थियो । महिलाहरूले मादक पदार्थ सेवन गरेको प्रमाणित भएपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक बिश्वराज अधिकारीले बताएका छन् ।
इलाका प्रहरी कार्यालय टीकापुरमा कुटपिट गर्ने महिला र पीडित अटो चालक बिच छलफल पछि चोटपटकको उपचार गर्ने सहमति पछि छोडिएको सूचना अधिकारी लोकराज अवस्थीले जानकारी दिए ।