धनगढी, १ असार/धनगढी उपमहानगरपालिका-१६, रामपुरस्थित बेहेडाबाबा मन्दिरमा मेला भर्न यो वर्ष पनि भारतको उत्तर प्रदेशबाट श्रद्धालुहरू आउने क्रम सुरु भएको छ । शनिबार त्रिनगर नाका भएर आउने भारतीयको लामो भिड छ । भोली गंगा दशहराको अवसर पारेर धार्मिक मेलाको आयोजना गरिएको छ । यो मन्दिर रामपुर गाउँको जंगल किनारमा छ। यसको इतिहास निकै पुरानो मानिन्छ।
कैलाली, कञ्चनपुर, बाँके र बर्दियाको भूभाग उहिले भारतीयहरूको दबदबा थियो। जंगबहादुर राणाले ब्रिटिस कम्पनीलाई सघाएबापत् प्राप्त भएकाले सो क्षेत्रमा भारतीयहरू आफ्नो हक जमाउन खोज्थे। त्यस क्षेत्रमा घना जंगल भएकाले मानिसहरूको त्यति बसोबास थिएन।
नेपाललाई इस्ट इन्डिया कम्पनीले बक्सिसको रुपमा सो क्षेत्र दिएपछि नेपाली मूलका आदिवासीहरूको बसोबास सुरु भएको बताइन्छ।
परापूर्वकालमा त्यहाँ शिवलिंग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको कथन छ। भारतीयहरू सो क्षेत्रमा घुम्न आएका बेला शिवलिंग फेला पारेका थिए।
भारतीयहरू शिवलिंगलाई उखेल्न धेरै पटक प्रयास गरे तर सफल हुन नसकेको बताइन्छ। उखेल्न नसकेपछि भारतीयहरूले फलामको घनले हिर्काएर फुटाउन खोजेका थिए भनिन्छ।घनले हिर्काएको चिनो अहिले पनि शिवलिंगको माथिल्लो भागमा देख्न सकिन्छ। धेरै प्रयास गर्दा समेत शिव लिंग उखेलेर भारत लैजान नसकेपछि सोही ठाउँमा मन्दिर स्थापना गरिएको जनविश्वास छ। सुरुमा सानो रुपमा देखिएको शिव लिंगको आकार बढ्दै गएको छ।
भारतीय पत्रिका अमर उजालाले लेखेको छ, ‘सन् १९५० मा कान्हा नामका भारतीय युवकले पहिलो पल्ट शिव लिंगलाई देखे। उनले शिव लिंगलाई उखालेर आफ्नो घर लैजान खोजे। धेरै प्रयास गर्दा उखेल्न नसकेपछि रिसले उनले बञ्चरोले शिव लिंगमा प्रहार गरे। त्यसपछि शिवलिंग जमिनमा विलिन भयो। बिस्तारै श्रद्धालुको शिवलिंगप्रति आस्था बढ्दै गयो र शिव लिंग बाहिर आउँदै गयो।’ शिव लिंगको उचाइ अहिले करिब सात फिट छ।
श्रद्धालुहरू मौनी अमवस्या, शिवरात्रि र गंगा दशहरामा बेहडाबाबाको दर्शन गर्न आउने गर्छन्। पहिले भारतीय पुजारी रहेकोमा पछिल्लो समय त्यहाँ आदिवासी थारु पुजारी छन्। बेहडाबाबा मन्दिरको ठीक पछाडि रामपुर गाउँको पश्चिमतर्फ रहेको बेहडाबाबा ताल छ। २० हेक्टर क्षेत्रफलमा फैलिएको ताल घनाजंगलले घेरिएको छ। जंगलको बीचमा रहेको तालको मध्य भागमा गंगा माताको मन्दिर छ। यसले तालको सुन्दरता अझ बढाएको छ।
कमलका पातले छोपिएको तालमा जताततै कमलको फूल सेताम्मे देखिन्छन्। तालको छेउमा राखेको डुंगा चढेर कमलका फूलसँग खेल्दै गंगा माताको दर्शन गर्न सकिन्छ। मन्दिर दर्शन गर्न आउने दर्शनार्थी र सो क्षेत्र घुम्न आउने पर्यटकको रोजाइमा बेहडाबाबा ९महादेवा ताल० पर्ने गरेको छ। केही वर्षअघिसम्म यहाँ माछापालन हुने गरेको थियो। पर्यटकीय सम्भावना बोकेको बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको तालमा माछापालन गर्दा नकारात्मक प्रभाव पर्न थालेपछि २०७० देखि माछापालन बन्द गरिएको छ।
यसरी पुग्ने बेहडाबाबा
धनगढी सदरमुकामबाट करिब १० किलोमिटर उत्तरपूर्व र पूर्वपश्चिम राजमार्गको चौमालाबाट करिब ५ किलोमिटर दक्षिणमा बेहडाबाबा मन्दिर छ।
धनगढीबाट बेहडाबाबा मन्दिर जाँदा बाटोमा दुईवटा नदी पर्छ। खुटिया नदीमा यो वर्ष पक्की पुल बनेको छ भने शिव गंगामा पुल नहुँदा श्रद्धालुहरूलाई मन्दिरसम्म पुग्न असहज छ। मन्दिर पुग्न करिब दुई किलोमिटर ग्राभेल र अरू कालोपत्रे सडक छ। शिव गंगा नदी तरेपछि करिब दुई किलोमिटर कच्ची सडक भएर त्यहाँ पुग्न सकिन्छ।