यमुना साउद
धनगढी,९ ज्येष्ठ / कैलालीको धनगढी चौराहा अगाडि सानो पेटी छ । पेटी छेउमा लामै लाइन देखिन्छ, जुत्ता–चप्पल बनाउनेहरूको लाइनभित्रै भेटिनुहुन्छ, धनगढीको बिसालनगरका ३९बर्षीया रमेश बहादुर रोकाया । जुत्ता–चप्पलको तलुवा फेर्नु, टल्काउनु, च्यातिएको सिउनु र चुँडिएको जोड्नु उहाँको पेशा हो । यो पेशाले उहाँलाई दाम दिएको छ । दामले जसोतसो जीविका चल्दै छ । दैनिक जीविका चलाउन रहर जलाउनुको विकल्प छैन । इच्छा चाहाना घटाउनु परेको छ ।यसै गरी दशक बितिसकेको उहाँ बताउनु हुन्छ ।
बुवाले गर्दै आएको कामलाई उनले निरन्तरता दिनुभयो । आर्थिक अभावका कारण पढ्न नपाउनुभएकोले उहाँ सानै उमेरमा बुबाले गर्दै आएको पेशा अँगाल्न बाध्य हुनुभयो । यो पेसा सुरु गर्दा उहाँ ७ बर्षको हुुनुुहुन्थ्यो । उहाँ घरबाट बिहानको ६ बजे नै चिया नास्ता खाएर साइकलमा निस्कन्छन् । साझ ७ बजे घर फर्किनु हुन्छ । दिउँसो खाना खाने ठेकान हुँदैन । उहाँ भन्नू हुन्छ बिहान चिया नास्ता खाएर आउँछु । दिन भर पानी पिएर यतै बस्छु । साझ एक छाक खाना खान्छु । के गर्नु काम नगरी खान पुग्दैन । यो उहाँको दैनिकी नै हो ।
गाँस, बास, कपास लगायतका उपभोग्य सामग्रीहरूको मूल्य आकासिएको छ । समय पूरै परिवर्तन भयो । उहाँ भन्नुहुन्छ, तर हाम्रा दुःख ज्यूकाँ त्यू छन् । मिहिनेत र सङ्घर्षले विश्राम लिएको छैन । थकानले विश्राम पाउँदैन ।’ घरमा उहाँ र उहाँको छोरा हुनुहुन्छ ।
आधुनिक प्रविधिको जमानामा पनि उहाँको काम गर्ने शैली पुरानै छ । जीवन भोगाइमा परिवर्तन आउन सकेको छैन । उहाँले आफ्नो जीवनशैली परिवर्तन गर्न नचाहेको पनि होइन । आर्थिक अवस्था कमजोर भएपछि रहर एकातिर आफ्नो बाध्यता अर्कोतर्फ हुने उहाँ बताउनुहुन्छ । उहाँ भन्नु हुन्छ टन्टलापुर गर्मीमा बसेर काम गर्नु पर्छ। न घाम भन्न मिल्छ , न गर्मी , न धुवा धुलो , न भोक , न निन्दा,न बिरामी , न थकित भए नै भन्न मिल्छ। घरपरिवार पाल्नै पर्यो ।
जुत्ता, चप्पल सिलाएर कमाएको पैसाले अत्यावश्यक रासन , लत्ताकपडा ,खर्च पु¥याउनै धौधौ हुने उहाँको भनाइ छ । रासन , बिजुली बत्ती र पानीको लागि महिनैपिच्छे पैशा छुटाउनुपर्छ । २ जनाको परिवारलाई चामल, तरकारी, नुन तेल, लुगाफाटो, चाडबाडमा पाहुनालाई खाना खुवाउन खर्च ठुलो हुन्छ । कमाई महिनामा ८/९हजार पनि हुँदैन,’ उहाँले सुनाउनुभयो ।
उनको मात्र होइन २६ वर्षीय सुनिल सार्कीको कथा रमेशको भन्दा कम छैन । सानो उमेरमा आर्थिक अभावका कारण ठुलो दबाबमा पर्नुभयो । पढाइ पनि बिचमै छोड्नु पर्ने भयो ।जुत्ता, चप्पल सिलाउने तलुवा लगाउन लगायतको ९जो अहिले गरिरहनु भएको० सीप सिकेर काम गर्ने निर्णयमा पुग्नुभयो ।
बुवाले काम गरिरहेको ठाउँमा गएर हेरेकै भरमा सबै सीप जानेको उहाँले बताउनुभयो ।घर व्यवहार टार्न मुस्किल पर्छ । कहिलेकाहीँ कमाइ नै हुँदैन ।बाकीँ भएको दिनमा ५ सयदेखि ८सम्म कमाउँछु। बिहान ६ बजेतिर उनी घरबाट चौराहा पुग्छन्। चोक नजिकै ग्राहक पर्खन्छन्। १ बजेसम्म त्यहाँ बस्छन्।
त्यसपछि खाना खान घर जान्छन्। खाना खाएर एक छिन पछि पुनः काममा फर्किन्छन्। साझ ७ बजे फेरि घर फर्कन्छन् । यो नै उहाँको दैनिकी हो । उनी जुत्ता, चप्पल सिलाउने, पालिस लगाउने काम गर्छन्। कतिपय ग्राहकले जुत्ता सिलाएको श्रमअनुसार पैसा नदिँदा खिन्न हुन्छन् उनी। ‘हामीले भने जति कसले दिन्छ र सबैले घटाएरै दिन खोज्छन्। कतिपयले त लगानी भए अनुरुप पनि दिँदैनन्, श्रम त त्यत्तिकै खेर जान्छ,’ उनले भने।
आफ्नै पसल खोलेर बस्ने रहर हुँदाहुँदै पनि यसका लागि स्रोत र साधन जुटाउन नसकेको उहाँको भनाइ छ । ‘सटर लिएर पसल खोल्नसमेत नसकेर धुलो धुवाँ, गर्मी, झरी, हावाहुरी सबै सहेर दैनिकी सडकमै बताउनुपरेको छ,’ उहाँले भन्नुभयो, ‘पसल खोल्न पैसा छैन । बिना धितो बैङ्कले ऋण दिँदैन । धितो राख्न जमिन छैन, सीप भएर के गर्नु रु’ उहाँले दुःखेसो पोख्नुभयो । यही सीपले ११ जनाको परिवार पालेको छु ।बच्चाहरूको पढाइ खर्च पनि यतै बाट जोहो गर्छु ।
विदेशमा मजदुरी गर्नुभन्दा यसैमा खुसी मिलेको उहाँले बताउनुभयो । उहाँले भन्नू हुन्छ आफ्नै ठाउँमा त काम गरेर खान पाउँदैनौ , अरूको देशमा त झन् साहुको गाली सहनु पर्छ ,ऋण लिएर घर बनाएको अहिले ऋण तिर्न पनि गाह्रो छ । बस्नलाई घर बनाउनै पर्यो । गरिबको त कोही कुरा सुन्दैन,कुरा सुन्ने धनी कै हो । हाम्रो कुरा त कोही सुन्दैन । यहाँबाट पनि नगरपालिकाले हटाउने भनी रहेको छ । हटायो भने त भारतमा जानुपर्छ ।
रमेश र सुनिलको जस्तै धनगढी विशाल नगरका ६० वर्षीय कृष्ण रोकायको जिउने आधार यही पेसा भएको छ । उहाँले पनि बुबाले गर्दै आएका पेसालाई तीन दशक देखि निरन्तरता दिनुभएको छ । उनको घरमा ३ जना छन् । दिन भर भोक भोकै काम गरिरहेको उहाँले बताउनु हुन्छ ।धुलो–घामका कारण काम गर्न गाह्रो भएको उनले बताए । ‘त्यसमाथि एकै ठाउँमा बसिरहँदा खुट्टा धेरै दुख्छ । धेरै समयपछि उभिन खोज्दा खुट्टाले टेक्नै गाह्रो हुन्छ।
धुलो–धुवाँले हिजो–आज प्रायः रुघाखोकीले सताउने गरेको उनले बताए । ‘धेरै दुःख छ हजुर यो काममा। त्यसै माथि छातीको अप्रेसन गरेको भएकाले समस्या हुन्छ । कहिले बिरामी परिन्छ काममा आउन मिल्दैन । भएको घर पनि हावाहुरी उडायो । हामी दुखिलाई झन् दुख माथि दुख आई लाग्छ । छोरीको मानसिक अवस्था पनि ठिक छैन । ’ उहाँले भने।
उहाँहरू सबैको आर्थिक अवस्था नाजुक छ । स्थानीय सरकारले बस्ने ठाउँको उचित व्यवस्थापन गर्नेतर्फ चासो राखेको छैन । फोहोर कर महिनाको २५का दरले उठाउने गरेका उहाँहरूले बताउँछन् । बाँकी पेटीमा सामाग्री राखे बापत दैनिक १०० रुपैयाँका दरले दिन भने पनि नदिएको उहाँहरू बताउँछन् ।
उहाँहरू भन्छन् ‘सरकारले कर मात्र खोज्छ । हाम्रो जीविकोपार्जन सहजताको लागि केही गर्दैन,’ सरकारले जीविकोपार्जन गर्नको लागि सडकमा बसेर जुत्ता, चप्पल सिलाउने व्यवसायीहरूको सीपलाई सम्मान नगरेको उहाँहरूको भनाइ छ । यो र यस्तै सिपलाई व्यवस्थापन, संरक्षण, प्रवर्धन गर्न सके स्थानीय स्तरका धेरै युवाहरूले रोजगारी पाउने उहाँहरूको धारणा छ । यसतर्फ कसैको ध्यान जान नसकेको उहाँहरूले बताउनुभयो । सरकारले झन् उल्टै यहाँबाट हटाउने निर्णय गरेको उहाँहरूले बताए ।
यो उहाँहरूको पुर्खौली पेशा नै हो । आर्थिक र व्यावसायिक तालिमको अभावमा उहाँहरूको पेशाले सम्मान पाउन सकेको छैन । उहाँहरूको सीपलाई संरक्षण तथा प्रवर्धन गरी व्यावसायिक रूपमा अगाडि बढाउन सके थप रोजगारीको सिर्जना हुने थियो ।