यमुना साउद ,धनगढी ,६ जेठ । सानै थिए, धनगढी आएको १ वर्ष भएको थियो । घरको याद धेरै आइरहेको थियो । त्यो हरियाली वातावरण ,फलफूल,चराचुरुङ्गीको आवाज, शीतल मौसम खुब याद आइरहेको थियो । त्यही बेलामा खेमा दिदीसँग जन्म भूमि डोटी जोरायल जाने कुरा भयो ।
घर जाने भने पछि मेरो त खुसीको कुनै सीमा नै थिएन । सोची रहेकी थिए , कति छिटो घर पुगेर सबै ठाउँ घुम्न पाउला? , कति रमाइलो होला ?,आजको दिन र भोलीको दिन कति फरक होला ?यस्तै प्रश्नहरू मनमा खेली रहेका थिए । आफ्नै मन भित्र प्रश्न र उत्तर पनि आफ्नै थियो । दिदीसँग कुरा भएको भोली पल्ट नै जानुपर्ने भएका कारण दुवै जनाले घर लैजानको लागी सामान किन्यौ । लगभग घर जाने सम्पूर्ण तयारी भइसकेको थियो ।
मात्र एक रात काट्न बाकी थियो । दिदीको खुसीको पनि कुनै सीमा थिएन । बिहे गरे माइत जाने छोरीको जस्तै । रात भरी घर जाने खुसीले निन्द्रा नै लागेन , खुसीको छटपटी पनि बेग्लै,ती गाउँमा बिताएका दिनहरु नै मानसपटलमा घुमिरहेका थिए । गाउँघरको वातावरण,शुद्ध चिसो मुहानको पानी,झ्याकीरीको चिरबिर आवाज , ओखर चोरेर खाएका ती छिमेकीको याद …. यस्तै सोच्दा सोच्दै कति बेला निदाए । थाहै पाएन ।
अर्को दिन बिहान राम्ररी उज्यालो नहुँदै दिदीले मलाई उठाउनु भयो । अरू दिन बाहाना गरी गरी सुत्ने म त्यो दिन छिटै उठे । सबै तयारी गरेर घर जान तयार भयौँ । बिहानको ७ बजी सकेको थियो । घर जान पाउँदाको खुसीले भोकलाई समेत मारिसकेको थियो । आ– आफ्नो झोला बोकी हामी अत्तरिया बसपार्क पुग्यौँ । जिप अझै तयार थिएन । यात्रुहरूको भिडभाड पनि उतिकै थियो । दिदी र म एक छिनपछि टिकट काटेर हामी जिपमा चढ्यौँ ।
२ घण्टापछि हामीलाई नास्ता खुवाउन एउटा ठाउँमा जिप रोकियो। हामीले चना र अण्डा खायौँ । यत्तिकैमा दिदीले भन्यो, “ छिटो घर पुग्न पाएको भएपनी हुने । हेर्न आज घरमा हाम्रा भिनाजुको भाइ पनि आउने रे। भोली नै जाने रे फेरी । ” मैल भने “को भिनाजुको भाइ हो फेरि ?हाम्रो त कुनै भिनाजु नाता पर्ने कोही छैन जस्तो लाग्छ ? त्यही पनि के भो त भेट भई हाल्छ किन हतार ह? ” दिदीले भनी“ हैन के तँलाई थाहा छैन , मितिनी दिदी तिरका भिनाजु हुन् , कस्तो थाहा नपाकी? ” नास्तापछि जिपमा चढे ।
हामी अबेर पछि कष्टपूर्ण पहाडी रुटको सडक यात्रा गर्दै जोरायल पुग्यौँ । हाम्रो जिप जहाँ रोकियो त्यहाँबाट अझै घर पुग्न २ घण्टा हिडेयौँ । हामी लगायत अन्य ४/५जना गाउँकै दिदिबहिनी पनि हामीसंगै गयौ । केही बेरमा घर पुगेयौँ । तेतिकैमा हाम्रो आँखाबाट यात्राको थकान समेत एकाएक हरायो । घर पुगेर खाजा नास्ता खानु भन्दा ठुलो हामीलाई आफ्नो बारीमा घुम्नु थियो ।
कुन बारीमा के लगाएको छ , पहिला कस्तो थियो ? अहिले कस्तो छ ? फलफुल के पाकेका छन् ?पुरै वारि घुमेर सके पछि घर पुगेर नास्ता खायौ । पछि दिदी र म फोटो भिडियो बनाउन लाग्यौ । साझ भईसकेको थियो । भिनाजु आईसकेका थिए । सबैले चिनजान गरेयौँ । हामी सबै घर परिवारको लागी उहाँ नया हुनु हुन्थ्यो। दिदिलाई मात्र चिन्नु भएको रहेछ । खानपिनपछि हामी सबै आ– आफ्नो कोठामा फर्कियौ ।
“दिदी तैले ती भिनाजुलाई कहिले देखि चिनिस् हु?म त पहिलो पटक देख्दै छु ,सबै पहिला चोटी देखे भन्छन् के हो कुरा ? ” यतिकैमा दिदी बोली हाली “मितिनी दिदी तिरका भन्दै छु त । कस्तो कुरा बुझ्दैन यो , मैले पहिला नै चिनेको त्यही भएर आज घरमा आउनु भएको हो । ”
मैले भने “ ल ल जो होस , चिन्नु न जान्नु ढुङ्गाले हान्नु जस्ता ” दिदीले रिसाए जसरी भनी “ल ल सुत्न जा अब धेरै नबोल। ” भोलिपल्ट बिहानै उठे , आमा बुवा मात्र उठ्नु भएको थियो । नास्ता खाए ।“ दिदिलाई उठाइनस् ” आमाले भन्नू भयो । “उम अब उठाउँछु ” आमा मही (दहीबाट घिउ निकाल्ने प्रक्रिया )पार्दै हुनु हुन्थ्यो । मलाई दिदिलाई उठाउन भन्दा पनि डाँडा काँडा घुम्न हतार थियो । भदौको महिना, वरपरको हरियाली , एकान्त वातावरण ..यो सबै मेरो लागि करोडौँको सम्पत्ति जस्तै थियो ।
एक्कासि आमाले बोलाइन् “को को छौ त्यहाँ , अनि खेमा खै? ” आमाले आत्तिँदै भन्नू भयो । “किन आत्तिनु भएको दिदी घरमै छ म एक्लै आएको यता ” मैले भने ।“खेमा घरमा छैन , हरि पनि छैन , अनि ज्वाइँ पनि छैनन् । सबै तिर खोजी सके ” आमाले रिसाउँदै भन्नू भयो । “अब म के गरौँ अनि मोबाइलमा नेटवर्क पनि छैन ”
मोबाइलमा नेटवर्क आएपछि एउटा म्यासेज आयो जसमा लेखिएको थियो–
“मलाई घरमा नखोज्नु ,जसलाई मैले भिनाजु भनेर घरमा बोलाएको थिए । उहाँ र म राती नै आईसकेयौँ । फुपूलाई फुपाजुलाई नरिसाउनु भन्दिनु । आशा छ तिमी मलाई बुझ्ने छौ । ”
