धनगढी,१ जेठ । जिल्ला कारागार बाजुरामा क्षमता भन्दा बढी कैदीबन्दी राखिएको छ । २५ जना अटाउने क्षमता भएको जिल्ला कारागारमा ७२ जना कैदीबन्दी राखिएको हो । कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा राखिँदा उनीहरुलाई खान, सुत्न र शौचालय जानसमेत समस्या छ ।
जेलर अनिलकुमार तिवारीले एउटा खाटमा ५/६ जना सुत्नुपर्ने अवस्था रहेको बताए । खाटमाथि खाट राखेर पनि कैदीबन्दी सुताइने गरेको छ । २०३७ सालमा बनेको बाजुरा कारागार जीर्ण भइसक्दा पनि मर्मत तथा नयाँ निर्माणका लागि पहल हुन नसकेको जेलर तिवारीले बताए । कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा सरुवा रोग फैलिने समेत जोखिम छ ।
