काठ्माण्डौ , ३ फागुन / अमेरिका लैजाने भन्दै भारतीय नागरिकलाई काठमाडौंमा बन्धक बनाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरले आज पत्रकार सम्मेलन गरी १ जना नेपाली र ८ जना भारतीय नागरिक लाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।
प्रहरीका अनुसार काठमाडौंको रातो पुलस्थित एक घरमा १४ जना भारतीयलाई बन्धक बनाएर राखेका थिए । त्यहाँ उनीहरूलाई कसैले सोधे सिरक डसना बनाउने काम गर्न आएको भन्न लगाइएको एसएसपी खत्रीले बताए ।
बन्धक बनाइएकाहरूलाई शारीरिक यातना समेत दिने गरेको प्रहरीले फेला पारेको छ । उनीहरूलाई पिट्नका लागि गिरोहले राखेको पाइपको लठ्ठी प्रहरीले बरामद गरेको छ ।
गिरोहले केही व्यक्तिहरूलाई १४ दिनदेखि र कोहीलाई एक/दुई दिनअघि मात्रै ल्याएको एसएसपी खत्रीले जानकारी दिएको । बन्धक राख्न गिरोहले मासिक ७५ हजार लिएर उक्त घर भाडामा लिएका थिए ।
उनीहरूको साथबाट विभिन्न देशका मुद्राहरू पनि बरामद गरिएको छ । प्रहरीले ‘अपरेशन डंकी’ चलाएर बन्धक बनाउने गिरोहलाई पक्राउ गरेको हो ।
पक्राउ गरेकाहरूविरूद्ध शरीर बन्धक कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको एसएसपी खत्रीले जानकारी दिए ।