धनगढी २० माघ/धनगढी उपमहानगरपालिका वडा नम्बर १६ रामनगरमा रहेको बेहडबाबा मन्दिरको नयाँ संरचना पुरातत्त्व विभागले डिपिआर तयार गर्ने भएको छ । मन्दिरको पुरानो संरचना परिवर्तन गरी नयाँ डिजाईनमा पुननिर्माण गर्न लागिएको हो । शनिबार डिपिआर निर्माण गर्न पुरातत्त्व विभागको टोली मन्दिरको नापनक्सा लिन आएको छ। पुरातत्त्व विभागका आर्किटेक्ट इन्जिनियर सुरेश पौडेल र केशव शर्माको टोलीले शुक्रवार र शनिवार मन्दिरको नाप नक्सा गरेको छ। यसअघि इन्जिनियर शर्माले बेहडाबाबा मन्दिर तथा परिसरको नापजाँच गरेर काठमाडौं फर्किएका थिए।
पुरातत्त्व विभागलले नेपाली शैलीको मन्दिर निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गर्न प्राविधिक टोली दोस्रो पटक पठाएको हो। मन्दिरको हालको संरचा जीर्ण भएकाले गर्भगृहबाहेक अन्य सबै संरचना नयाँ बनाउने हिसाबले डिपिआर तयार गर्न मन्दिर व्यवस्थापन समितिले विभागलाई आग्रह गर्ने निर्णय भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले बताए। उनले नेपाली शैलीको भव्य मन्दिर निर्माणका लागि डिपिआर बनाउन विभागको टोली बोलाइएको बताए। शनिबार धनगढी वडा नम्बर १६का वडा अध्यक्ष रामलाल चौधरी र वडा नम्बर १७का वडा अध्यक्ष माधव रानाको उपस्तिथीमा नापजोख गरिएको हो ।
पुरातत्त्व विभागको टोलीले मन्दिरको हालको संरचना पुरानो भएकाले त्यसको ठाउँमा नयाँ बनाउने या पुरानो संरचनालाई नचलाएरै बाहिर अर्को नयाँ संरचाना बनाउन सकिने सुझाव दिएको छ। नयाँ मन्दिर बनाउँदा ५ देखि १० करोडसम्म लागत लाग्ने अनुमान प्राविधिक टोलीले गरेको छ। मन्दिर व्यवस्थापन समितिको निर्णयका आधारमा पुरातत्त्व विभागले नयाँ मन्दिरको डिपिआर बनाउने र त्यसपछि बन्ने नयाँ मन्दिर पुरातत्त्व विभागको रेखदेखमा निर्माण हुने बताइएको छ।
बेहडाबाबामा शिवलिङ्गको पूजाआजा हुन्छ। भगवान शिवलाई बेहडाबाबाका नामले पुकारिन्छ भने मन्दिरको गर्भगृहमा रहेको शिवलिङ्ग प्राचीन शिवलिङ्ग रहेको जनविश्वास छ। मन्दिरमा गङ्गा दशहरा र शिवरात्रीको दिन मेला लाग्छ भने नेपाल तथा भारतको उत्तर प्रदेशबाट वार्षिक लाखौं दर्शनार्थी मन्दिरमा पूजापाठ गर्न आउँछन्।