धनगढी, ५ पुस/कैलालीको गोदावरीमा साहसिक खेल जिप लाइन सञ्चालनमा आएको छ । करिब २ करोडको लागतमा यहाँ जिप लाइन सुरु गरिएको हो । धनगढीका दिनेश खड्का सहित ३ जना युवाहरूले जिप लाइन सञ्चालनमा ल्याएका हुन् ।
बुधवार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले जिप लाइनको उद्घाटन गरेका हुन् ।जिप लाइनको उद्घाटन गर्दै मन्त्री देउवाले जिप लाइनले यहाँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । पछिल्लो समय बढ्दै गएको निजी लगानीलाई सुरक्षित गर्ने र थप लगानी भित्र्याउने सरकारको लक्ष्य रहेको उनले बताए ।
यहाँको पूर्वाधार तथा धार्मिक पर्यटकीय क्षेत्रको विकासमा विभिन्न सरकारी तथा गैर सरकारी निकाय सँग सहकार्य गर्ने उनले बताए । यहाँ आउने लगानीलाई सुरक्षित राख्नुपर्ने सबैको दायित्व रहेको बताउँदै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले सरकारले थप लगानीको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।गोदावरी पुलभन्दा ४ सय मिटर माथि रहेको स्टेसनबाट करिब १ किलोमिटर जिपलाइनमा यात्रा गर्ने व्यवस्था मिलाइरहेको छ ।
जिप लाइनले गोदावरीमा आउने पर्यटकहरूको सङ्ख्यामा वृद्धि आउने अपेक्षा गरिएको छ । ‘पिकनिक’ खान र घुम्नका लागि गोदावरी पुग्ने पर्यटकहरूले अब जिप लाइनको पनि मज्जा लिने छन् । सुदूरपश्चिमका केही क्षेत्रमा जिप लाइन सेवा भए पनि गोदावरीको जिपलाई सबै भन्दा लामो जिपलाइन रहेको दाबी गरिएको छ ।
नेपाल आउने पर्यटकले औधी रुचाउने जिप लाइन नेपाली पर्यटकमाझ पनि लोकप्रिय नै बनेको जिप लाइनका सञ्चालक दिनेश खड्काले बताए । उनले भने, ‘यही बाटो भएर आउने आन्तरिक तथा बाह्य पर्यटकहरू एक पटक आफ्नो सवारी रोकेरै भए पनि ‘जिपलाइन’ को मज्जा लिने गरेका छन् ।’ धनगढीबाट नजिक र पर्यटकीय दृष्टिकोणले पनि परिचित ठाउँ भएकोले गोदावरीलाई नै रोजेर यो व्यवसाय सुरु गरेको उनको भनाई छ ।