धनगढी, ७ मंसिर / सुनको गहनाका लागि कञ्चनपुरमा एक महिलाको हत्या गरेको खुलेको छ। गत कार्तिक १९ गते जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरकी ६५ वर्षीया नारुदेवी जोशीको हत्या भएको थियो। शुक्लाफाँटा–७ कै महेश डगौराले नारुदेवीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
घर नजिकै रहेको जंगलमा घाँस काट्न गएकी नारुदेवीको हत्या भएको थियो। नारुदेवीको हत्या गरेकै दिन डगौराले २५० रुपैयाँका लागि एक भारतीय नागरिकलाई समेत लुटपाट गरेका थिए। त्यसअघि १४ कार्तिकमा उनले झलारीका महेश भट्टको साइकल चोरेका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले विभिन्न कोणबाट अनुसन्धान गर्दै जाँदा साइकल चोरी र भारतीय नागरिकलाई लुटपाटमा संलग्न महेश डगौराले नै नारुदेवीको हत्या गरेको स्वीकार गरेको बताए। उनी लागुऔषध दुव्र्यसनीसमेत रहेको प्रहरीले जनाएको छ। डगौराले घाँस काट्न सघाइदिने भन्दै एक्लै जंगल गएकी नारुदेवीको पिछा गरेका थिए।