धनगढी २६ कार्तिक/जति बेला नेपालमा चाडपर्वको उल्लास बढ्छ, त्यति बेला सीमावर्ती भारतीय बजार भारतीय ग्राहकले होइन, नेपालीहरूले खचाखच भरिन्छ ।सस्तो मूल्यमा पाइने भन्दै नुनदेखि सुनसम्म किनमेल गर्न नेपाली उपभोक्ताहरू २र३ किलोमिटर दुरी तय गर्दै सीमावर्ती भारतीय बजार चहार्छन् ।
दसैँलगत्तै दीपावलीको माहौल बढे यता कैलाली जिल्लासँग जोडिएको भारतीय सीमावर्ती वनगाउँ, सुडा, पलिया, चन्दनचौकी, टिकुनियालगायत भारतीय बजार नेपाली उपभोक्ताले खचाखच भरिएका छन् ।वनगाउँमा किनमेल गर्न पुगेका धनगढी उपमहानगरपालिका–८ का दिनेश रानाले धनगढी बजारमा भन्दा हरेक सामान सस्तोमा पाइने भएकोले किनमेल गर्न जाने गरेको बताए । खासगरी नुन, चिनी, खुर्सानी, मसलालगायत दैनिक उपभोग्य वस्तु किन्न आफूहरु भारतीय बजार पुग्ने गरेको रानाको भनाइ छ ।
धनगढी–३ की कुमारी बम दसैँको चाहिने कपडा धनगढीमै नकिनी वनगाउँ पुगेकी थिइन् । साडी, धोती, कुर्तालगायत थान कपडासमेत सस्तोमा पाइने भन्दै उनले भारतीय बजारमा भर पर्दै आएको बताइन् ।राना र बम मात्रै होइनन्, अधिकांश सीमावर्ती नेपालीहरू दशकौँदेखि भारतीय बजारमै किनमेल गर्न पुग्छन् । वनगाउँ बजारस्थित जयश्रीराम बर्तन भण्डार एन्ड हार्डवेयरका सञ्चालक वीरेन्द्र गुप्ताले दसैँ, तिहार, तीजलगायत मुख्य–मुख्य चाडपर्वमा लाखौँ नेपालीहरू किनमेलको लागि आउने गरेको सुनाए । नेपाली उपभोक्ताबाटै बजार चलेको स्विकार्दै गुप्ताले नेपाली बजारभन्दा सस्तोमा मालसामान बिक्री गर्दै आएको दाबी पनि गरे ।
तर, एसियाकै दोस्रो ठुलो मानिने दुधुवा नेशनल पार्कभित्र पर्ने र जसले जैविक विविधता तथा पर्यावरणमाथि असर परेको निष्कर्ष निकाल्दै सो बजारलाई भारतको उत्तर प्रदेश सरकारले विस्थापन ग¥र्यो । गौरीफन्टा बजार विस्थापनपछि त्यहाँकै व्यापारीहरूले दुधुवा नेशनलपार्क छेउमा वनगाउँ बजार सञ्चालनमा ल्याएका हुन् ।
गौरीफन्टा बजार विस्थापन भएपछि धनगढीका व्यवसायीहरू खुसी भएका थिए । तर, २ वर्ष नपुग्दै वनगाउँले पनि गौरीफन्टाकै रुप लिन थालेपछि धनगढी बजारमा प्रत्यक्ष असर पारेको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा बताउँछन् । नेपाली बजारले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसक्दा पनि केही हदसम्म असर गरेको उनको भनाई छ ।
तर, पछिल्लो समय धनगढीलगायत नेपाली बजारले पनि निकै फड्को मारेको बताउँदै उनले खुला सीमा नाका, चोरी तस्करीले नेपाली बजारमा असर पार्नुको साथै भारतीय बजारबाट चोरी तस्करी गरी नेपाली समाजमा भित्रिने लागूऔषधले विकृतिसमेत बढाएको दाबी गरे ।
स्वदेशी वस्तुको उत्पादन, उपभोगले मात्रै अर्थतन्त्र मजबुत हुने बताउँदै आमउपभोक्ताले गुणस्तरीय स्वदेशी वस्तुको उपभोगमा ध्यान दिनुुपर्नेमा वरिष्ठ उपाध्यक्ष ओझाले जोड दिए । भारतीय वनगाउँ बजारले धनगढी बजारलाई, चन्दनचौकी बजारले कैलाली जिल्लाका दक्षिणी क्षेत्रमा रहेको हसुलिया बजारलाई र अर्को भारतीय तिकुनिया बजारले जिल्लाको टीकापुर बजारलाई असर गर्दै आएको छ ।
रातोपाटीबाट