धनगढी, १२ कार्तिक/धनगढी उपमहानगरपालिकाले अचाक्ली कर लगाएपछि भुसाको बिक्री बन्द भएको छ । धनगढी उपमहानगरपालिकाले दुई सय रुपैयाप्रति क्वीन्टल रहेको भुसामा ५० रुपैया कर लगाएपछि त्यसको बिक्री बन्द भएको हो । सुदूर पश्चिमका खाद्य उद्योगहरुले भुसा अन्य प्रदेशमा बिक्री गर्दै आएका थिए । त्यसमा अचाक्ली कर लगाएयता भुसाको बिक्री बन्द भएको खाद्य उद्योगीहरुले गुनासो गरेका छन् ।
बिगतमा सुदूर पश्चिमका ईटा उद्योगमा खपत हुदै आएको भुसा ईटा भट्टाहरु बन्द भएपछि पूर्वी नेपालमा बिक्री हुने गरेको थियो । उप महानगरले अचाक्ली कर लगाएपछि भुसा बिक्री गर्न सकिने अवस्था नभएको व्यवसायीहरुले बताएका छन् ।
वसायीहरुका अनुसार अन्य प्रदेश र पालिकामा भुसामा प्रति क्वीन्टल ४ देखि ५ रुपैया कर छ । ट्रक पाँच सय रुपैया कर लाग्ने भएपनि धनगढीमा भने १५ हजार रुपैया लाग्ने गरेको व्यवसायीहरु बताउछन् । यति अचाक्ली कर नेपालको कुनै पालिका र प्रदेशमा छैन, एक खाद्य उद्योगीले भने, अचाक्ली कर लगाएपछि भुसा बिक्री हुन छाड्यो ।
अन्य प्रदेशमा प्रति बिक्री हुन छोडेपछि खाद्य उद्योग परिसर भुसाले ढाकिन थालेको छ । धनगढी उपमहानरपालिकाले कनिका र पिनामा पनि सोही हाराहारीमा कर लगाएकोले कनिका र पिनाको व्यापार समेत ठप्प भएको व्यवसायीहरुले गुनासो गरेका छन् ।