धनगढी, २० असोज/कैलालीको घोडाघोडी नगरपालिकाबाट ३०।७५ क्यु फिट चिरान काठ र ८३ क्यु फिट गोलिया सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालिकाको वडा नम्बर ८ का दोर्जे शाही रहेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।
उनले पालिकाको वडा नम्बर ८ आम फाटामा सञ्चालन गरेको मोहन्याल फर्निचर उद्योग भित्रबाट काँचो सालका ९ गोलिया, १२ थान चिरान गरेका कडी र २४ थान पटरा शनिवार नियन्त्रणमा लिएको छ । पक्राउ परेका शाहीलाई जिल्ला चलान गरिएको छ । उनलाई वन ऐन २०७६ अनुसार कारबाही हुने डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत गौचरण चौधरीले बताएका छन् ।