काठमाडौं १८ असोज/अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले देशमा व्याप्त बेरोजगारी समस्या समाधानका लागि निजी क्षेत्र र सरकारबीच साझेदारी र सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।
नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आज काठमाडांमा आयोजना गरेको सीपमूलक तालिमका सम्भावना र योजना विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले लहडको भरमा भन्दा पनि बजारको मागबमोजिम व्यावसायिक र सीपमूलक तालिम प्रदान गरिनुपर्ने बताउनुभयो ।महासंघको नवौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. महतले नेपालबाट दैनिक रोजगारीका लागि विदेश पलायन भइरहेको अवस्थामा महासंघले दक्ष कामदार उत्पादनमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।
उहाँले अदक्ष जनशक्ति रोजगारीका लागि बाहिर जाँदा सोचेअनुरुपको आर्थिक लाभ लिन नसकेको अहिलेको अवस्थालाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।उहाँले एकातिर देशमै दक्ष मानव संशाधनको अभाव हुनु र अर्काेतिर बेरोजगारीदर बढ्दै जानु चिन्ताको विषय भएको बताउनुभयो ।
उहाँले देशभित्र र बाहिरका लागि दक्ष जनशक्ति उत्पादन गर्न तालिम तथा रोजगारका क्षेत्रमा सरकारले गर्ने काममा कहाँ के सुधार गर्नुपर्छ त्यसका लागि सरकार तयार रहेको बताउनुभयो ।मन्त्री महतले देशमा विभिन्न किसिमका व्यावसायिक तालिमहरु निजी क्षेत्र, वैदेशिक रोजगार विभाग, सीटीईभीटी, श्रम विभागलगायतले सञ्चालन गरे पनि परिणाममुखी बन्न नसकेकोमा दुखेसो पोख्नुभयो ।
देशभरका तालिम तथा रोजगार प्रदायक संस्थाहरुको छाता संगठन नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले विगत नाँै वर्षदेखि प्राविधिक तथा सीपमूलक जनशक्ति उत्पादन गर्दै आइरहेको महासचिव छत्र बमले बताउनुभयो ।