किशोरकुमार तामाङ
कञ्चनपुर १७ असोज/कञ्चनपुरको पुनर्वास नगरपालिका आईबिआरडी बजारमा मृत अबस्थामा भेटिएकी लक्ष्मी घर्तीको हहत्यामा संलग्न भएको आरोपमा चार जना पक्राउ गरेको छ ।
डेढ महिनापछि घर्तीको हत्या गर्ने चार जना युवक पक्राउ गरी प्रहरीले सर्वजनिक गरेका छन् । गत साउन २९ गते आफ्नो घर आईबिआरडी बजारदेखि ‘घ’ गाउँस्थित मामाघर जान्छु भनी हिँडेकी लक्ष्मी भोलीपल्ट बिहान घर नजिकैको सडक क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । तत्कालिन अवस्थमा घटना बाटो बीचमा घटेकाले, घटनाको प्रकृति शंकास्पद र रहस्यमय भएकाले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरिरहेको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लक्ष्मीको हत्यामा संलग्न भएको आरोपमा चार जना युवकलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका वडा नम्बर १ बस्ने सरोज राना, सोही ठाउँ बस्ने १९ वर्षीय राहुल राना, लालझाडी गाउँपालिका वडा नम्बर १ नौरङ्गा बस्ने ३३ वर्षीय सेनराज राना र नौरङ्गाकै पर्शु रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न राज कुमार रानाको खोजिकार्य भइरहेको कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापाले बताएका छन् ।
थापका अनुसार, लक्ष्मी र सरोजबिच चिनजानकै सम्बन्धका आधारमा सोही साँझ लालझाडी जङ्गलमा मचान हेर्नका लागि गएको र त्यहाँ मदिरा सेवनपछि विवाद हुँदा युवकहरूले लक्ष्मीलाई मचानको तेस्रो तलाबाट भुईँमा खसाएर घाइते बनाएका थिए । घाइते भएकी लक्ष्मीको उपचारको साटो घर नजिकै ल्याएर फ्याकेपछि राति नै लक्ष्मीको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानपछि असोज १४ गते पक्राउ परेका चारै जनालाई अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनीहरू विरुद्धमा कर्तव्य ज्यान अन्तर्गत मुद्दा दायर गरिएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।