बैतडी, १४ असोज / बैतडीको सतबाँझमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । समुदायिक प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत आइतबार जिल्ला प्रहरी कार्यालय बैतडीको आयोजनामा सुर्नया गाउँपालिका २ को सतबाँझ बजारमा सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीको उपस्थितिमा चालक तथा यातायात व्यवसायीहरु संग दुर्घटना न्यूनीकरण सम्बन्धि एक दिवसिय छलफल तथा अन्तकृया सम्पन्न गरिएको प्रहरीचौकी सतबाँझले जनाएको छ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले जिल्ला प्रहरी कार्यालय बैतडीका सचेतनामूलक कार्यक्रम गरिरहेको हो । सतबाँझमा भएको छलफल तथा अन्तकृया कार्यक्रममा चालकहरुले प्रहरीबाट दुव्र्यवहार हुने गरेको गुनासो राखेका छन् । यस्तै चालकहरुले सतबाँझमा पार्किङको समस्या रहेको बताएका थिए । सो गुनासो पछि प्रहरी निरीक्षक खेम विक्रम केसीले कुनै प्रहरीबाट दुव्र्यवहार नहुने र त्यस्तो गरेमा प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् ।
यस्तै कार्यक्रम बोल्दै प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गिरीले यातायातका साधन चलाउँदा ट्राफिक नियमको पालना गर्नेु पर्ने बताए । पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएकाले यसतर्फ सबैले सचेत हुनु पर्ने उनको भनाइ थियो । डीएसपी गिरीले चाँडपर्वका बेला यात्रुबाट बढी भाडा नअसुली सुरक्षित तरिकाले सवारीसाधन चलाउन समेत अनुरोध गरेका छन् । यस्तै छलफल तथा अन्तकृया कार्यक्रममा सहभागि सुर्नया गाउँपालिका २ का वडा अध्यक्ष गाणेश बहादुर विष्टले चालक तथा यात्रुलाई जोखिमपूर्ण यात्रा नगर्न नगराउन आग्रह गर्दै पार्किङको व्यवस्थाका लागि पहल गरिने बताए ।
यस्तै अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझमा कार्यरत ट्राफिक हबलदार मोहन बहादुर विष्टले चालकबाट ट्राफिक नियम उल्लंघन हुँदा दुर्घटनाको जोखिम बढ्दै गएको बताए । कार्य क्षेत्र फराकिलो र ट्राफिक जनशक्ति कम भएकाले निगरानीमा समेत समस्या भएको उनले बताए ।
अहिले सतबाँझमा ट्राफिकको उपस्थिति भएपनि दुई जना मात्रै कार्यरत रहेका छन् । दुई जना ट्राफिक प्रहरीले दशरथचन्द राजमार्ग र महाकाली राज मार्गबाट आवजावत गर्ने सवारीसाधन चेकजाँच गर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीले अहिले जिल्लाभरि दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिरहेको छ ।