धनगढी, ८ असोज / सुदूरपश्चिममा सरकारी छाप दस्तखत किर्ते गरेर अनुचित लाभ लिनेको संख्या बढ्दो रहेको प्रहरी तथ्यांकले देखाएको छ। प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो तिन आर्थिक बर्षमा ३६ जना विरुद्ध सरकारी छाप दस्तखत किर्तेमा मुद्दा दायर भएको छ।
कैलालीको गोदावरी नगरपालिका–३ का ६३ बर्षीय ईश्वरीप्रसाद दाहाल २०६५ सालमा जिल्ला मालपोत कार्यालय बर्दियामा खरिदार पदमा कार्यरत रहेका बेला सरकारी जग्गाको किर्ते कागजपत्र बनाएर विभिन्न व्यक्तिबाट आर्थिक लाभ लिएका थिए। उनीसहितका दुई जनाले नेपाल सरकारका नाममा रहेको बर्दियाका विभिन्न स्थानका जग्गाको किर्ते कागजपत्र बनाएर लालपुर्जा उपलब्ध गराइदिए वाफतविभिन्न व्यक्तिबाट आर्थिक लाभ लिएका थिए। २०७३ साल मंसिर ३० गतेको फैसलाले उनलाई ३ वर्ष ५ महिला कैद सजाय सुनाएको थियो।
तर उनी फरार रहेका थिए। २०७७ सालमा उनी पक्राउ परेका थिए। ठगीको नयाँनयाँ शैली अपनाउँदै सरकारी छाप दस्तखत किर्ते गरेर अनुचित लाभ लिनेहरु बढ्दै गएको पाइएको छ । यस्तै सरकारी छाप किर्ते दस्तखत मुद्दाका धनगढी १९ का २५ वर्षीय नवराज चौधरीले २०७२ असोज २२ गते धनगढी ८ क्याम्पस रोडमा से ३ प ९३२० नम्बरको मोटरसाईकल चलाईरहेका बेला ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा यातायात व्यवस्था कार्यालय सेतीबाट सवारी चालक अनुमतिपत्र किर्ते गरी चलाइहेको अवस्थामा भेटाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । अनुसन्धानको कार्य पुरा गरी कैलाली अदातलको २०७३ जेठ २५ गतेको फैसलाले ११ महिना ३ दिन ५० रुपैयाँ जरिवाना भई फरार रहेकोमा प्रहरीले लुकिछिपी बसेको अवस्था २०७७ साल ५ महिना २१ गते पक्राउ गरेको थियो ।यसरी सुदूरपश्चिम प्रदेशमा सरकारी छाप दस्तखत किर्ते गर्नेहरुले ठगीका नयाँनयाँ शैली अपनाएको पाइएको छ।
यी उदाहरण मात्रै हुन् । सुदूरपश्चिममा सरकारी छाप दस्तखत किर्ते गर्ने ८ जना विरुद्ध गत वर्ष मात्र मुद्दा दायर भएको छ। आर्थिक वर्ष २०७७र७८ मा १२ जना विरुद्ध सरकारी छाप दस्तखत किर्तेमा मुद्दा दायर भएको थियो। यो संख्या आर्थिक वर्ष २०७८र७९ मा पुगेर १६ पुगेको थियो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७र७८ देखि आर्थिक वर्ष २०७९र८० सम्म मात्र ३६ जना विरुद्ध सरकारी छाप दस्तखत किर्तेमा मुद्दा दायर भएको छ।