लबदेव धामी
धनगढी, ३१ भदौ / यति बेला हिन्दु नारीको महान पर्व तिजले गाउँ देखि सहर सबैको घर घरमा एक खाले उमङ्ग छाएको छ । तर समय परिर्वतन भएसँगै तिजको मौलिक रमझम पनि फेरिदै गएको छ । एउटा छोरी माइत जाने खुसी माइतीले तिजको लागि दर खान माइत बोलाउने रीति आजभोली लोप भैसकेको अवस्थामा पुगेको देखिएको छ । हातहातमा मोबाइल र इन्टरनेटको पहुँच तथा यातायातको सुविधाले छोरी चेली र दिदीबहिनीलाई लिन अब घरमै जान नपर्ने अवस्था आएको छ ।
छोराछोरी पिठ्युँमा बोक्दै र हातमा डोर्याउँदै दाईभाइको अघिपछि हुँदै साँझपख मात्रै माइतीको आँगनमा पाइलो टेक्दा मिल्ने खुसी आजको प्रविधिको विकासले हराएको छ ।
बहिनी आउ माइती घर तिज आयो नि,
के के खानेहौ ल भन दर तिज आयो नि।
बुढा बा आमा तिम्रै बाटो हेरि राख्छन्
सबैको गाउँ अनि सहर तिज आयो नि।।
यो माथिको हरफले करिब १० बर्ष अगाडीको तिज आउनै लाग्दाको समयलाई चित्रण गरेको छ । तर अब समयसँगै आजको तिज र तिज मनाउने विधि र पद्धति समेत हराएको लामो समय देखि पत्रकारीता गरीरहनुभएकी धनगढीकी पत्रकार जमुना न्युरेले बताउनुभयो ।
पछिल्लो समयमा तिज तडकभडकको मात्रै भएको छ । समाजमा सर्वसाधारणलाई तिज मनाउनै हम्मे हम्मे भएको अवस्था छ । मोलिकता विहिन, नक्कलमा आधारित तिज आजको समयमा हाबी भएकोले यो समाजको लागि खतरा साबित हुन सक्ने पत्रकार न्युरेको भनाई रहेको छ ।
“तीजको रौनक हराउँदै जाँदा पुराना दिन केवल सम्झनामात्रै सिमित रहन थालेका बैतडीका पार्वती धामीले बताएका छन् । उहाँले भन्नु भयो “हिजोआज तीजको लय हराउँदै गएको छ, तीज मनाउन देखासिकी गरीरहेका छन् । विदेशी पहिरन , खाना सबै हाबी भैरहेको छ । यो क्रम निरन्तर चलि रहने हो भने तिजको मौलिकता थियो भन्ने भनाइमा सिमित रहने अबस्था आउँछ ।”
“हरितालिका तीज पर्व महिलालाई सशक्त बनाउँदै, परम्परा र संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने गरि घरायसी, सामाजिक, हिंसालाई बाहिर निकाल्ने अवसर र नारी विद्रोहको रुपमा लिइन्छ। तर हिजोआज तीज गीतका नाममा केही समाजमा सजिलै नपच्चे गीत र दर खाने निउमा होटलमा दारू खानेहरू र यथार्थ र संस्कृति भन्दा बाहिर गएर देखासिकी गर्ने विकृति पनि केही देखिएको हुँदा ती विकृति विसङ्गतिलाई हटाई महिलाका वेदना पोख्ने र नारी हिंसा र दमन बिरुद्ध विद्रोहको पर्वका रुपमा मनाउनुपर्छ। धनगढीकी साहित्यकार एवम् कवियत्री कोपीला शर्माको भनाइ रहेको छ ।”
धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरुले हरितालिका तीजका रुपमा मनाउँदै आएका छन् ।
पार्वतीले महादेवलाई श्रीमान्का रुपमा पाउन एक सय सात जन्मसम्म घोर तपस्या गरे पनि १०८औँ जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा शास्त्रमा उल्लेख छ । यही मान्यतालाई अनुसरण गर्दै विवाहित महिलाले श्रीमानको दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाउँ भनी तीजको व्रत बस्ने चलन छ ।
तीजका गीतमा नारी वेदनालाई लयात्मक तरिकाले अभिव्यक्त गर्ने चलन पनि विस्तारै हराउँदै गएको दार्चुलाका छ । घरपरिवारभित्रको दुःख, समाजको अत्याचार, कुरीति र विसङ्गतिविरुद्ध सङ्गीतबद्ध गरिएका आवाज समाज परिवर्तनका संवाहक बन्दथे तर अहिले ठीक उल्टो भएको छ । समाजलाई सही बाटोमा हिँडाउने गीत भद्दा र मजाकका वस्तुजस्तै बनेका छन् । ‘भाइरल’ र चर्चित बन्ने नाउँमा गीतलाई अपभ्रम गराइएको छ । लय, ताल र सुरमा तीजको कुनै छनक नै पाइँदैन ।
पिठीको भाइ लगाउनु आमा बोलाउन,
सम्झेर माइती नपरोस मैले टोलाउन ।।
गीत गाउँदा पहिला दिदीबहिनी भेला भएर सुखदुःखका कुरा र सासूले दिएका पीडालगायत विषयमा गाउने गरेको भए पनि अहिले कसको श्रीमानले कति कमाउँछ भन्नेमा मात्रै केन्द्रित भएको छ ।