धनगढी, २६ भदौ/कैलालीको धनगढी स्थित त्रिनगर नाकाको प्लान्ट क्वारेन्टिन वन्द भएपछि सुदूरपश्चिमका व्यवसायी केन्द्र सरकारलाई गुहार्न पुगेका छन् । सुदूरपश्चिमको प्रमुख भन्सार नाका समेत रहेको कार्यालयमा कार्यरत कर्मचारी अध्ययन बिदामा गएका बेला प्लान्ट क्वारेन्टाइन तथा विषादी परीक्षण केन्द्र वन्द भएपछि साउन २८ गतेयता नाकाको प्लान्ट क्वारेन्टिन बन्द हुँदा त्रिनगर नाकाबाट फलफूल, तरकारी र खाद्य पदार्थ आयात हुन सकेको छैन ।
सुदूरपश्चिमका व्यवसायीहरुले प्लान्ट क्वारेन्टिन सुचारु गर्नका लागी मुख्यमन्त्री कमलबहादुर शाह, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल लगाएतलाई धनगढी स्थित त्रिनगर नाकाको प्लान्ट क्वारेन्टिन संचालनका लागि ज्ञापनपत्र बुझाई सकेका छन् । संचालनको कुनै संकेत नदेखिएपछि नेपाल उद्योग बाणिज्य महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष शंकरबहादुर बोगटी, कैलाली उद्योग बाणिज्य सघंको टिमले संघिय सरकारलाई गुहार्न पुगेको छ । उक्त टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री प्रकाशशरण महत, कृषी मन्त्री बेदुराम भुसाललाई भेट गरी प्लान्ट क्वारेन्टाइन यथाशिघ्र सञ्चालनका लागि माग गरेका छन् । भेटमा सुदूरपश्चिमको व्यबसायीको टोलीलाई प्रधानमन्त्री तथा अर्थमन्त्रीले छिटो सुचारु गर्ने आश्वासन दिएको कैलाली उद्योग बाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष पुष्पराज ओझाले जानकारी दिए ।
प्लान्ट क्वारेन्टिनको मुख्य कार्यालय गडडाचौकी र त्रिनगरमा टुरमुकाम कार्यालय छ । महाकाली नदीमा बनेको बनबासा पुलबाट भारी मालबाहक गाडी आउन नदिइने हुनाले सुदूरपश्चिममा भारतबाट हुने खाद्यवस्तुको ठूलो भाग त्रिनगरबाट भित्रिन्छ ।सो कार्यालयका प्राविधिक विदामा बसेपछि विषादी तथा अन्य परीक्षण नहुँदा आयात रोकिएको हो ।
उक्त क्वारेन्टिन कार्यालयमा कार्यरत बाली संरक्षण अधिकृत प्रमोद ठगुन्ना अध्ययन बिदामा बसेपछि भारतबाट आयात हुने खाद्यान्न,फलफूल र तरकारी आयात ठप्प भएको हो । अहिले कार्यालय कुर्नका लागि एक जना कार्यालय सहयोगी मात्रै छन् । प्लान्ट क्वारेन्टिनको मुख्य कार्यालय कञ्चनपुरको गड्डाचौकी नाकामा रहेपनी भारतले शारदा नदीको पुलमा बढी भार भएका मालबाहक साधन आयात गर्न प्रतिबन्ध लगाएको छ । जस कारण खाद्यान्न, तरकारी र फलफूलमा विषादी, किराजन्य संक्रमण परिक्षण बन्द भएपछि आयात नहुँदा ब्यवसायी मारमा परेको कैलाली उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ओझाले जानकारी दिए ।