धनगढी १७ भाद्र/एकजना कर्मचारी बिदामा बसेपछि कैलालीको त्रिनगर नाकाबाट बन्द भएको खाद्यवस्तु आपूर्ति खुलाउन व्यवसायीले प्रदेश सरकारलाई आग्रह गरेका छन् ।साउन २८ गतेयता नाकाको प्लान्ट क्वारेन्टिन बन्द हुँदा त्रिनगर नाकाबाट फलफूल, तरकारी र खाद्य पदार्थ आयात हुन सकेको छैन ।
प्लान्ट क्वारेन्टिनको मुख्य कार्यालय गडडाचौकी र त्रिनगरमा टुरमुकाम कार्यालय छ । महाकाली नदीमा बनेको बनबासा पुलबाट भारी मालबाहक गाडी आउन नदिइने हुनाले सुदूरपश्चिममा भारतबाट हुने खाद्यवस्तुको ठूलो भाग त्रिनगरबाट भित्रिन्छ ।सो कार्यालयका प्राविधिक विदामा बसेपछि विषादी तथा अन्य परीक्षण नहुँदा आयात रोकिएको हो । संघले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई माग सम्बोधनको लागि ज्ञापनपत्रसमेत बुझाएको छ ।
कार्यालयमा कार्यरत कर्मचारी अध्ययन बिदामा गएका बेला प्लान्ट क्वारेन्टाइन तथा विषादी परीक्षण केन्द्र काठमाडौँले टुरमुकाम कार्यालयमा कर्मचारी नपठाएर बन्द गर्न खोजेको संघको भनाइ छ । कैलाली भन्सार भएर भारतबाट आउने खाद्यान्न, फलफूल र तरकारीको विषादी र किराको परीक्षण गरेर निकासी र पैठारी इजाजत दिने काम टुरमुकाम कार्यालयले गर्दै आएको थियो ।
त्रिनगरबाट आयात ठप्प हुँदा धनगढी भन्सार नाकाबाट आउने धान, चामल, गहुँ, दाल, तेलहन, तरकारी, फलफूल, खाद्य योग्य, पशुपक्षी आहारका लागि चाहिने कच्चा पदार्थ र खाद्य वस्तुलगायतको अन्य खाद्यवस्तु नेपालगञ्ज नाकाबाट ल्याउँदा हरेक वस्तुमा प्रतिकेजी २३ रुपैयाँ मूल्य वृद्धि हुने र उपभोक्ता मारमा पर्ने व्यवसायीको गुनासो छ ।
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदुरपश्चिमको बिकासका लागि सरकार र निजी क्षेत्र मिले अघि बढ्नु पर्ने बताएका छन् । ‘प्रदेशका साझा मुद्धामा साझा लबिङ गर्नु पर्छ ।’ प्रधानमन्त्रको चीन भ्रमणका क्रममा सुदुरपश्मिका मुद्धा पनि एजेण्डामा समावेश गर्न लबिङका लागि उद्योगी व्यापारी र पर्यटन व्यवसायीको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शाहले भने – ‘सरकार आफ्नो तर्फबाट प्रदेशको बिकासका लागि गरिरहेको छ । निजी क्षेत्रले पनि सरकारसँग मिलेर मुद्धा अघि बढाउनु पर्छ ।’
प्रधानमन्त्री र परराष्ट्र मन्त्रीसँगका पटक पटकका भेटमा आफुले सुदुरपश्चिमबाट चीन जोड्ने बाटो र सुदुरपश्चिमका आयोजना एजेण्डका रुपमा समेट्न आग्रह गरेको मुख्यमन्त्री शाहले बताए । डोटीसम्मको ट्रयाक पुरा खुल्न लागिसकेको र बझाङको उत्तरमा पनि खुल्न लागिरहेकोले सेती लाकमार्गलाई चाइना बोर्डरसम्म निर्माणका लागि अघि बढाउन आफुले आग्रह गरेको मुख्यमन्त्री शाहले बताए ।
सुदुरपश्चिमको बिकासका लागि साझा धारणा निर्माण पनि अहिलेको आवश्यकता भएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले भने ‘भीमदत्त राजमार्गको बिकल्पको रुपमा अहिले पाँच मार्गहरु निर्माण भैरहेका छन् । तर निर्माण सुस्त । तिनीहरुको पनि प्राथमिकरण गरे निर्माण कार्य तिब्र बनाइनु पर्दछ ।’
व्यवसायीहरुले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सुदुरपश्चिमको चीनसँगको उरै नाका खोल्नका लागि पहल गर्न ज्ञापनपत्रमा माग गरिएको छ । रेशम मार्गको मुख्य मुख्य शाखाको रुपमा रहेको यो नाका मार्फत करिब एक बर्षदेखि व्यापारिक र धार्मिक गतिबिधि हुदै आएकोमा कोरोनापछि चीनले यो नाका बन्द गरेको छ । नाका बन्द हुदा यस क्षेत्रका परम्परागत व्यापारिक, धार्मिक तथा सीमावर्ती क्षेत्रका वासिन्दाका दैनिक गतिविधि र पारस्परिक सम्वन्धहरु प्रभावित भैरहेको ज्ञापन पत्रमा उल्लेख छ ।
भदौ १६ मा धनगढीमा भएको उद्योग, पर्यटन तथा होटल व्यवसायीहरुको बैठकले चीन सँगको नाकार खोलाउन आग्रह गर्ने निर्णय गरेको थियो । सो अवसरमा नाटा सुदुरपश्चिम प्रदेश संघका अध्यक्ष पदम बहादुर सिंहले चीनसँगको सहज नाका भएको र जनस्तरमा सम्वन्ध भएकोले यो खुलाउन प्रदेश सरकारले नै पहल गर्नु पर्ने बताए । नाटा सुदुरपश्चिमका संस्थापक अध्यक्ष माया प्रकाश भट्टले लामो समयदेखि खुला रहेको नाका फेरि खुलेमा चीनसँगको सम्वन्ध सहज हुने भएकोले खुलाउन प्रदेश सरकारको पहल आवश्यक रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेश, कैलाली उद्योग वाणिज्य संघ, नाटा सुदुरपश्चिम, होटल व्यवसायी महासँघ, नेपाल पत्रकार महासंघ सुदुरपश्चिम समिति र पत्रकार महासंघ कैलालीले ज्ञापन पत्र बुझाएका हुन् ।