मुगु, ७ साउन ÷ जुम्लाको गुठीचौर गाउँपालिकाका विभिन्न ठाउँमा अज्ञात समूहले आगो लगाएको घटनामा शंकास्पद १० जना पक्राउ परेका छन् । शुक्रबार राति ११ बजे खेदि १ बजे सम्मको समयमा ७ घरमा आगो लगाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले सो घटनामा शंकास्पद लागेका १० जनालाई नियन्त्रणमा लिएको छ । जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोसीका अनुसार आगालागी भएका सम्बन्धित ठाउँका आशंका गरिएका १० जनालाई नियन्त्रणमा लिइएको हो । उनले भने, ‘अहिले उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।’
गुठीचौरका विभिन्न गाउँका गरी ७ वटा घरमा आगो लगाएर खरानी बनाइएको थियो । धवलपुर गाउँमा २ वटा घरमा, बाउली गाउँमा १ वटा, ढुडाखोजमा १ वटा, माथिल्लो देहारजिबुरमा १ वटा, खल्ला वडामा २ वटा गरी ७ वटा घरमा आगो लागइएको प्रहरीले बताएको छ । आगो लगाइएको कुरा थाहा पाउने वित्तिकै जिल्लाबाट प्रहरीको टोली घटनास्थाल पुगेको थियो ।
