काठमाडौं/पाल्पा जिल्ला फुटबल संघले वार्षिक कार्यक्रमको रुपमा कर्णेल उजीर सिंह पाल्पा गोल्डकप फुटबल प्रतियोगिताको घोषणा गरेको छ ।सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै ऐतिहासिक ब्यक्तित्व कर्णेल उजीर सिंहको नाममा पाल्पा गोल्डकपको घोषिणा गरिएको हो ।प्रतियोगिता जेठ १२ गतेदेखि सञ्चालन हुने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणयजंग राणाले बताए ।
पाल्पा जिल्ला खेलकुद विकास समिति र अखिल नेपाल फुटबल संघ एन्फाको समन्वयमा सञ्चालन हुने प्रतियोगितामा पाल्पा उद्योग वाणिज्य संघ, तानसेन नगरपालिका र प्रदेश खेलकुद परिषद्, लुम्बिनीको सहयोग रहनेछ ।प्रतियोगितामा पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके, स्याङ्गजा, कास्की, चितवन र काठमाडौका गरी १६ टिमको सहभागीता रहने आयोजक पाल्पा फुटबल संघले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पाल्पामा झण्डै ३३ वर्षपछि राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख, पाल्पाली करुवा ट्रफी र मेडल पाउनेछन् । यस्तै दोस्रो हुने टिमले नगद १ लाख ५० हजार, पाल्पाली करुवा ट्रफी, मेडल र प्रमाणपत्र पाउने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले जानकारी गराए । प्रतियोगितामा प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद ३ हजार दिइने छ । उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिनेछ ।
संघले प्रतियोगिताको मुख्य प्रायोजकको लागि ७ लाख, सह–प्रायोजकका लागि ४ लाख र व्यानरका लागि १५ हजार सहयोगको अपेक्षा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राणाले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । यस बाहेक विभिन्न आठ वटा विभिन्न उप–समिति गठन गरेर अघि बढेको जनाएको छ ।प्रतियोगिताका लागि अखिल नेपाल फुटबलसंघलाई जानकारी गराइसकेको छ । एन्फाबाट आर्थिक सहयोग प्राप्त नभए पनि विभिन्न व्यक्ति, क्लब तथा स्थानीय निकायबाट सहयोग जुट्ने अध्यक्ष राणाले बताए । प्रतियोगितामा १३ वर्षसम्मको बालवालिकालाई निःशुल्क प्रवेश दिइने छ । अस्थायी प्याराफिटमा बस्ने दर्शकले ७० रुपैयाँ तिर्नुपर्ने छ ।
ग्राउण्डका दर्शकले ५० रुपैयाँ तिर्नु पर्नेछ, जेष्ठ नागरिक, विद्यार्थीलाई ५० प्रतिशत छुट दिइने छ । प्रतियोगिता अवधिभरका लागि २ हजार ५ सय रुपैयाँ तिर्नेले विशेष पास पाउनेछ । प्रतियोगितामा १५ खेल हुनेछ ।वर्षौदेखि सुस्ताएको फुटबल प्रतियोगितालाई नयाँ ढंगले अघि बढाउँदै युवालाई खेलमैत्री भावनाको विकासका साथै स्वस्थ र सकारात्मक युवाहरु उत्पादन गरी राष्ट्र विकासमा योगदान दिने लक्ष्य रहेको पाल्पा गोल्डकपका सल्लाहकार तथा पुराना खेलाडी अशोकमान महर्जनले बताए ।
जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले खेलाडीलाई हौसला प्रदान गर्ने खालका राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरेर लामो समयपछि फुटबलको इतिहासलाई पुनः सम्झाउन खोजिएको बताए । प्रतियोगिता सफल बनाउन संस्थागत र व्यक्तिगत रुपमा पूर्ण सहयोग रहने बताउदै उपाध्यक्ष घिमिरेले नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।