धनगढी, १ जेठ/धनगढीमा स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिका–४ शहीदगेटबाट दुई जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० जुगेडाका २८ वर्षीय विजय राना र २९ वर्षीय अक्षय राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए ।
धनगढीका एक व्यवसायीबाट स्रोत नखुलेको रकम लिएर मोटरसाइकलमा जुगेडातर्फ गइरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको साउँदले बताए । उनका अनुसार उनीहरूको साथबाट ५०० दरका ९ लाख भारतीय रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ ।