महेन्द्रनगर १४ बैशाख/कञ्चनपुरस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रस्थित अतिक्रमण हटाउन थालिएको छ।दोधारा चाँदनी नगरपालिका अन्तर्गत नेपाल–भारत सीमाको अतिक्रमण हटाएर दशगजा क्षेत्र खाली गर्न थालिएको हो।भारतसँग सीमा जोडिएको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलबाट दशगजा क्षेत्रको अतिक्रमण हटाउन थालिएको दोधारा चाँदनीका नगर प्रमुख किशोर लिम्बूले जानकारी दिए।
‘दशगजा क्षेत्रको अतिक्रमण खाली गराउने काम सुरु भएको छ, पहिलो दिन डेढ किलोमिटर क्षेत्र खाली गराएका छौँ,’ उनले भने, ‘दशगजा खाली नहुँदासम्म यो निरन्तर चल्छ।’सशस्त्र प्रहरी, जनपद प्रहरी, भारतीय सीमा सुरक्षा बल ९एसएसबी० र जनप्रतिनिधि लगायतको समन्वयमा संयुक्त रुपमा दशगजा खाली गर्ने काम थालिएको हो।दोधारा चाँदनीमा नेपाल–भारत अन्तराष्ट्रिय सीमाको दशगजा क्षेत्रमा लामो समयदेखि नेपाल र भारत दुवैतर्फ खेती गरिएको छ।
‘अहिले खेतीपाती भित्र्याएको अवस्थामा दशगजा खाली गर्न सजिलो छ, दशगजा खाली नहुँदा बेला बेला विवाद हुने गरेको छ,’ नगर प्रमुख लिम्बूले भने, ‘दशगजा क्षेत्र खाली हुँदा यो विवाद हट्नेछ।’ उनका अनुसार पहिलो दिन दोधारा चाँदनी–३ बडुवाल टोलस्थित मुख्य सीमा स्तम्भ ८०० देखि सहायक स्तम्भ नम्बर ८(४ सम्मको क्षेत्र खाली गरिएको छ।
उक्त कार्यमा सुरक्षाकर्मीसँगै नगरपालिकाका सर्भेक्षक समेत खटिएका छन्। सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले नियमित कार्यक्रम अन्तर्गत दशगजा खाली गराउने काम भइरहेको बताए। ‘दशगजामै घर टहरा लगायत पक्की संरचना बनेको ठाउँमा खाली गराउन केही ढिलाइ भएको छ,’ उनले भने, ‘अहिले नयाँ घर टहरा बनाउन पनि रोक लगाइएको छ।’
उनका अनुसार सीमा क्षेत्रमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएदेखि नै एसएसबीसँग समन्वय गरेर दशगजा खाली गर्ने गरिएको छ। कञ्चनपुरमा १२९ दशमलव ५ किलोमिटर सीमा भारतसँग जोडिएको छ।