बैतडी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उपनिर्वाचन लगत्तै प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् । नेपाल प्रेस युनियन बैतडीले आज गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले केन्द्रमा गठबन्धन सरकार बनेकाले सोही अनुसार प्रदेश सरकारहरु बन्ने बताए ।
केन्द्रीय गठबन्धन अनुसार प्रदेश सरकार विस्तार हुने भएकाले उपनिर्वाचनपछि सुदूरपश्चिम सरकारले पूर्णता पाउने उनले बताए । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहलाई माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ ।पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले आफू मुख्यमन्त्री भएपछि पहिलो पटक जिल्ला भ्रमण रहेकाले जिल्लाहरुको वस्तुस्थिती बुझिरहेको बताए । यस्तै आगामी बर्षको बजेट र कार्यक्रम तर्जुमाका लागि पनि आफू जिल्ला जिल्लामा पुगिरहेको उनले बताए । उनले भने ‘मैले प्रदेशका सबै जिल्लामा पुग्ने कोशीस गरिरहेको छु । यो बेला जिल्लाहरुको वस्तुस्थिती बुझेर बजेट निर्माणमा सहयोग पुग्ने अपेक्षा गरेको छु ।’
शिक्षा, स्वास्थ्य, कृषि र रोजगारका क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताउँदै मुख्यमन्त्री शाहले प्रदेशमा भएका श्रोत साधनहरुको समुचित प्रयोग गर्नुपर्नेमा जोड दिए ।प्रदेश सरकार मार्फत सञ्चालनमा रहेका योजनाहरुमा भ्रष्टाचार मौलाएको भन्दै पत्रकारहरुले गरेको प्रश्नमा जवाफ दिँदै मुख्यमन्त्री शाहले प्रक्रियागत रुपमा नआएका योजनाहरु अबका दिनमा कार्यान्वयन नहुने बताए । उनले भने ‘योजनाहरुमा कमीसनका कुराहरु सुनिएका छन् । यो कुरालाई प्रदेश सरकारले पूर्ण रुपमा निरुत्साहित गरेको छ । प्रक्रियागत आएका योजनाहरु मात्रै अब सञ्चालनमा आउनेछन् ।’
यस्तै मुख्यमन्त्री शाहले सुदूरपश्चिममा लगानि गर्नका लागि लगानिकर्ताहरुलाई आह्वान गरेको समेत बताए । यो क्षेत्रको विकासमा लगानिकर्ताहरुलाई निर्धक्क रुपमा लगानि गर्न आग्रह गरिएको उनले सुनाए ।सुदूरपश्चिम प्रदेशको मात्रै नभएर देशकै भविष्यसंग जोडिएको पश्चिम सेती परियोजनाको काम अघि बढ्ने उनले दाबी गरे । अबको ६ महिनाभित्र पश्चिम सेती परियोजनामा देखिने गरेर काम हुने उनले बताए । उनले भने ‘अबको ६ महिना भित्र पश्चिम सेती परियोजनामा देखिने गरेर काम हुने हामीले विश्वास गरेका छौं । यो परियोजनाले यो क्षेत्रको विकासमा सहयोग पुर्याउनेछ ।’
पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले अनुदानभन्दा शून्य प्रतिशत ब्याजमा किसानहरुका लागि लगानि गर्ने सोच बनाएको बताए । अनुदानको दुरुपयोग भएको भन्दै मुख्यमन्त्री शाहले यसको विकल्पमा शून्य ब्याजदरमा किसानहरुलाई ऋण उपलब्ध गराउनुपर्नेमा उनको जोड थियो । बिहीबार बैतडी पुगेका मुख्यमन्त्री शाह दार्चुला समेत पुग्ने कार्यक्रम रहेको छ ।