धनगढी/कैलालीमा सवारी दुर्घटनामा कमी आइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको तथ्याङ्कले देखाएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा पछिल्लो समय यहाँ दुर्घटनामा कमी आइरहेको पाइएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र जोहारीले गत तीन वर्षको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा कमी आएको बताए । उनका अनुसार जिल्लामा २०७७/७८ मा ३२७ सवारी दुर्घटनामा परेकोमा २०७८/७९ मा २६६ र चालु आर्थिक वर्ष २०७९/८० को अहिलेसम्म ९५ सवारी दुर्घटनामा परेको जानकारी दिए ।
कैलालीमा आएको दुई महिना पछि पत्रकारसँग परिचयात्मक कार्यक्रम गर्दै उनले शनिवार सो बारेमा जानकारी दिएका हुन् । २०७७/७८ मा ३२७ सवारी दुर्घटनामा ६९ जनाको ज्यान जाँदा २०७८/७९ मा २६६ सवारी दुर्घटना हुँदा ७६ जनाको ज्यान गएको छ । यस्तै चालु आर्थिक वर्ष २०७९/८० को अहिलेसम्म ९५ सवारी दुर्घटना हुँदा ४३ जनाको ज्यान गएको छ।अहिले धनगढी अत्तरिया ६ लेन सडकमा बत्ती जडान भएपछि दुई महिना यता कुनै पनि सवारी दुर्घटनामा नपरेको प्रहरी निरीक्षक जोहारीले बताए । जिल्लामा आएको दुई महिनामा आफूले यहाँको ट्राफिक व्यवस्थापनमा निकै चुनौती पाइएको बताए ।
सडक निर्माणाधीन अवस्थामा रहनु,मोहना अत्तरिया ६ लेन सडक खण्डमा पूर्वाधारको कमी, क्षमता भन्दा बढी अटो तथा ई(रिक्सा लगायतका समस्याले ट्राफिक व्यवस्थापनमा निकै चुनौती देखिएको उनले बताए ।यी चुनौतीलाई समाधान गर्नको लागि विभिन्न प्रकारका सचेतनामूलक कार्यक्रम गर्ने,सचेतना कक्षा सञ्चालन,अन द स्पोट सचेतना,चालक यात्रुसँग एक मिनेट कार्यक्रम जस्ता कार्य योजना बनाई अघि बढेको समेत बताए ।
पछिल्लो तीन वर्ष यता राजश्वमा समेत कमी आएको छ । २०७७/७८ मा ७९ हजार ८९ सवारी कारबाहीमा पर्दा ४ करोड ५७ लाख ६७ हजार राजश्व सङ्कलन भएकोमा २०७८/७९ मा ४२ हजार सवारी कारबाहीमा २ करोड ३३ लाख ७८ हजार पाँच सय र चालु आर्थिक वर्ष २०७९/ ८० को हालसम्म २८ हजार ४ सय ७७ सवारी कारबाहीमा परेकोमा १ करोड ६१ लाख २६ हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।