धनगढी । कैलालीको मनेराकी राममति राना घर निर्माणको काममा ज्याला मजदुरी गर्छिन् । नौ घण्टा काम गरेपछि उनले पाउने दैनिक ज्याला पाँच सय रुपैयाँ हो । त्यही आम्दानीले तीन बच्चासहित चार जनाको परिवारका लागि साँझबिहानको चुलो बल्छ । पछिल्लो समयमा अकासिएको महँगीले राममतिलाई छाक टार्न धौधौ छ ।
अत्यावश्यक खाद्यवस्तुको मूल्य घट्नुको साटो दिनहुँजसो उकालो लागिरहेको छ । ‘दाल, चामल सबै सामानको भाउ बढेको छ,’ उनले भनिन्, ‘सधैं काम पनि गर्न सकिँदैन । काम गरेकै दिनको कमाइले पनि साँझबिहान छाक टार्न पुग्दैन ।’
ज्याला मजदुरी गरेर गुजारा चलाउने राममति मात्र होइन, बढ्दै गएको महँगीले सबै वर्गलाई प्रभावित बनाएको छ । दैनिक आवश्यक पर्ने उपभोग्य सामग्रीको मूल्य अकासिएको छ । किराना व्यवसायी संघ धनगढीका अध्यक्ष लक्ष्मण पन्तका अनुसार पाँच महिनाअघिसम्म एक हजार दुई सयमा २५ किलोको कट्ठा पाइने मोटा चामलको मूल्य अहिले साढे १३ सय पुगेको छ ।
मसिनो (मनसुली चामल) एक हजार ६ सयमा २५ किलोको कट्ठा पाइँदै आएकोमा अहिले दुई हजार एक सय पुगेको छ । पन्तका अनुसार पिठोको मूल्य ५० रुपैयाँ प्रतिकिलोबाट बढेर ६५ भएको छ । दालहरूको मूल्यमा सरदर २० देखि २५ रुपैयाँ प्रतिकिलो बढेको छ ।
पन्तका अनुसार यहाँ अधिकांश दैनिक उपभोग्य सामग्री भारतबाट आयात हुन्छ । ‘सुदूरपश्चिमका कैलाली कञ्चनपुरलाई अन्नको भण्डार भन्ने गरिए पनि अधिकांश उपभोग्य सामग्री भारतबाटै आयात हुने गरेको छ,’ पन्तले भने, ‘चामल ९० प्रतिशतभन्दा बढी मात्रामा पारिबाट आउँछ । अन्य केही वस्तुहरू मात्र फाट्टफुट्ट वीरगन्जबाट पनि आउँछ ।’ भान्सामा दैनिक आवश्यक पर्ने मसलाजन्य वस्तुको मूल्य पनि बढेकै छ । पन्तका अनुसार प्रतिकिलो पाँच सय रुपैयाँ पर्ने जिराको मूल्य अहिले ८ सय पुगेको छ ।
यस्तै चिनी ८० मा पाइन्थ्यो अहिले ९० रुपैयाँ पुगेको छ । रातो खुर्सानी ४ सयबाट साढ पाँच सय प्रतिकिलो पुगेको छ । धनियाँ तीन सयबाट बढेर साढे तीन सय भएको छ । चाउचाउ लगायतका ड्राइफुडको मूल्य बढेको नदेखिएको भए पनि हरेक उत्पादकले पहिलेकै मूल्य कायम गरेर तौल घटाएका छन् । ‘दस रुपैयाँको ९० ग्राम तौलमा आउने बिस्कुटको तौल अहिले ६० ग्राम बनाइएको छ,’ पन्तले भने । खाने तेलको मूल्य भने तुलनात्मक केही घटेको उनले जनाए ।
तरकारीको मूल्य घटबढ भएको छ । धनगढीका तरकारी व्यवसायी प्रेम चौधरीका अनुसार टमाटरको मूल्य दोब्बरले बढेको छ । टमाटर प्रतिकिलो १५ बाट बढेर ३० मा पुगेको छ । प्याजको मूल्य पनि प्रतिकिलो १० रुपैयाँ बढेको छ । प्याज प्रतिकिलो ४० मा बिक्री भइरहेको छ । लौका, काउलीलगायतको मूल्य घटेको छ । लौका प्रतिकिलो ९० रुपैयाँबाट घटेर अहिले ६० रुपैयाँमा झरेको छ भने काउली प्रतिकिलो ४५ बाट घटेर ३० मा झरेको छ ।
दुग्धजन्य पदार्थको मूल्य पनि बढाउने तयारी भइरहेको व्यवसायीहरूले बताए । डेरी व्यवसायी भूपेन्द्र थापाका अनुसार दूध, दही, मही, पनिर, घिउलगायतका दुग्धजन्य पदार्थमा प्रतिकिलो दस रुपैयाँ बढाउने तयारी छ । हाल दूध प्रतिलिटर ८० रुपैयाँ रहेकोमा ९० हुनेछ । दही प्रतिलिटर एक सय ३०, पनिर ७ सय १०, घिउ १ हजार १ सय १० र मही ७० रुपैयाँ प्रतिलिटर हुने थापाको भनाइ छ ।
खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेकाले मारमा परेको गुनासो उपभोक्ताको छ । खाद्यान्न, तरकारी, फलफूल र लत्ताकपडाको भाउ अकासिएको हो । क्रयशक्ति झनै कमजोर हुने सुदूरपश्चिमका दुर्गम पहाडी जिल्लाका उपभोक्तालाई महँगीको मार अत्यधिक छ । ‘आम्दानी छैन, हामी गरिबहरूलाई कसरी छाक टार्ने भन्ने संकट छ,’ बाजुराको बडिमालिकाका स्थानीय रामबहादुर थापाले भने, ‘घटेको कहिल्यै सुनिँदैन, सामानको भाउ जहिले पनि बढेको बढ्यै हुन्छ ।’
बाजुरा सदरमुकाम मार्तडीका किराना व्यवसायी हंसबहादुर सिंहका अनुसार बाजुराको कोल्टीमा मोटा चामलकै मूल्य प्रतिकिलो ५२ रुपैयाँ पर्ने गरेको बताए । प्रतिकिलो ६ रुपैयाँ बढ्यो । पिठो प्रतिकिलो ९० रुपैयाँ पर्ने गरेको छ । यस्तै चिनी प्रतिकिलो एक सय रुपैयाँ पर्ने गरेको छ ।
मूल्यवृद्धिको भार उपभोक्तालाई मात्रै परेको छैन । व्यवसायीहरू पनि चेपुवामा परेको बिक्रेताहरू बताउँछन् । धनगढीस्थित सीताराम डेरीका सञ्चालक सीताराम भट्टले व्यापार स्वाट्टै घटेको बताए । उनले पहिला पहिला दैनिक २५ सय लिटर दूध बिक्री हुने गरेकोमा अहिले करिब आधा घटेर बढीमा १५ सय लिटर मात्र बिक्री हुने गरेको बताए । ‘मन्दीले सबैलाई असर गरेको छ । हामी व्यवसायीको व्यापार पनि चौपट हुँदै छ,’ भट्टले भने ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष धनपति ढुंगेलले मूल्यवृद्धिले ज्याला मजदुरी गरेर गुजारा गर्ने अतिविपन्न वर्गलाई निकै समस्यामा पारेको बताए । ‘बिचौलियाको मनपरीले मूल्यवृद्धि अचाक्ली छ,’ ढुंगेलले भने, ‘नियामक निकायले मूल्यवृद्धि नियन्त्रण गर्न चासो राखेका छैनन् । तत्काल प्रभावकारी अनुगमन गर्नुपर्छ ।’
संघीय संरचनासँगै स्थानीय तहलाई बजार अनुगमनको अधिकार छ । तर स्थानीय तहले प्रभावकारी अनुगमन गरेको देखिँदैन । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले बजार अनुगमन कार्यालयको प्राथमिकतामै रहेको दाबी गरे । ‘शुक्रबार पनि बैठक राखेर अनुगमन कार्यलाई थप प्रभावकारी बनाउने सन्दर्भमा छलफल भएको छ,’ प्रशासकीय अधिकृत जोशीले भने ।-कान्तिपुर