काठमाडौं/दीपेश कँडेलको उत्कृष्ट बलिङप्रेरित नेपालले घरेलु टिम युनाइटेड अरब इमिरेट्स (यूएई)माथि सात रनको रोमाञ्चक जित निकाल्दै अर्को वर्ष श्रीलंकामा हुने युवा विश्वकपमा स्थान पक्का गरेको छ । ४८औँ ओभर बलिङका लागि आएका दीपेशले आफ्नो ओभरको अन्तिम तीनमा ह्याट्रिक लिएपछि यूएईविरुद्ध अप्रत्यासित जित निकाल्दै नेपालले सात वर्षपछि यू–१९ विश्वकपमा स्थान बनाएको हो ।
बिहीबार यूएईको इडेन गार्डेन ओभल अज्मानमा नेपाली टिमले प्रस्तुत गरेको १९२ रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टिमले ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो । त्यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रनको योगफल खडा गरेको थियो ।
नेपालले सन् २०१६ पछि विश्वकपमा स्थान बनाएको हो । त्यसअघि २०१९ मा नेपाललाई एक रनले पराजित गर्दै यूएईले विश्वकपमा स्थान बनाएको थियो । मलेसियामा सम्पन्न उक्त छनोट प्रतियोगितामा नेपाल डकवर्थ लुइस पद्धतिका आधारमा एक रनले पराजित भएको थियो । त्यही हार नेपालको विश्वकप यात्रामा तगारो बनेको थियो । यस्तै, सन् २०२१ मा पनि कोभिड–१९ महामारीका कारण छनोट नहुँदा यूएई सोझै छनोट भएको थियो ।
नेपालले यसअघि २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा गरी सातपटक आईसीसी यू–१९ विश्वकप खेलिसकेको छ । यूएईले भने २०१४, २०२० र २०२२ मा युवा विश्वकप खेलेको थियो । आजको खेलमा नेपालका कप्तान देव खनालले ५१ रन बनाए । देवले ८४ बलमा तीन चौका र एक छक्का प्रहार गरे । १९–३ को अवस्थामा रहँदा देवले चौथो विकेटका लागि उत्तम रङ्गु थापामगरसँग ८४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए । उत्तमले ४८ बलमा तीन चौका र एक छक्कासहित ३६ रन बनाए ।
विशालविक्रम केसीले ३८, दीपेश कँडेलले १५, हेमन्त धामीले १३ र मिलन बोहराले १० रन थपे । नेपालका ओपनर दीपक बोहरा खेलको पहिलो बलमै ‘गोल्डेन डक’ भएका थिए । यूएईका ध्रुव पारासर तीन विकेट लिए । कप्तान आयान अफ्जल खान र हरित हरिस सेट्टीले समान दुई विकेट लिए । अम्मर बदामी र हर्षित सेठले एक–एक विकेट लिए ।
यूएईको इथन कार्ल डी’सुजाले ५० रन बनाए । आर्यन सक्सेनाले ३४, आर्यन्स शर्माले ३२, अम्मर बाडामीले १९, ध्रुव पारासरले १७ र मरुफ मेर्चन्टले १२ रन बनाए । यूएईविरुद्ध रोमाञ्चक जित दिलाउन उत्कृष्ट बलिङ गरेका दीपेशले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका दीपेशले एक मेडन राख्दै ४२ रन खर्चिए । सुवास भन्डारी र हेमन्त धामीले समान दुई विकेट लिए ।