धनगढी, १३ फागुन/ नेपाल–भारत सीमा छुट्याउने महाकाली नदीमा भारतको अर्धसैनिक निकाय एसएसबीले जलयात्रा (र्याफ्टिङ) सञ्चालन गरिरहेको छ। नेपाली प्रशासनसँग समन्वय नै नगरी एसएसबीले ‘सैन्य गतिविधिको झल्को’ दिनेगरी महाकाली नदीमा जलयात्रा गरिरहेको हो।
सीमा क्षेत्रमा कुनै पनि गतिविधि गर्नुपूर्व दुवै देशको अनुमति र समन्वय हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ। तर भारतले महाकालीमा उक्त अन्तराष्ट्रिय मान्यताको धज्जी उडाउँदै दादागिरी शैलीमा ‘साहसिक अभियान’ नाम दिएर आफ्ना सैनिकलाई ‘र्याफ्टिङ’ गराइरहेको छ।
ठूलो संख्याको एसएसबी फौजले तीन दिनयता (बिहीबारदेखि) महाकाली नदीमा र्याफ्टिङ गरिरहेका छन्। बिहीबार दार्चुलाको जोलजिवीबाट र्याफ्टिङ थालेको उक्त फौज आइतबार (भोलि) कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेव क्षेत्रमा पुग्ने छ। महाकालीमा एसएसबीले जलयात्रा गरिरहेको बारेमा नेपाली प्रशासन भने बेखबर छ। भारतीय पक्षले महाकाली नदीमा जलयात्राका लागि नेपाली प्रशासनसँग समन्वय नै गरेको छैन।
‘महाकालीमा एसएसबीले र्याफ्टिङ गरिरहेको सुनिएको थियो, तर यसबारे भारतीय पक्षले हामीसँग कुनै समन्वय गरेको छैन,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने, ‘सीमा नदीमा कुनै पनि गतिविधि गर्दा अर्को देशको अनुमति आवश्यक पर्दछ।’
भारतीय एसएसबीले अनुमतिविना महाकालीमा र्याफ्टिङ गरिरहेको जानकारी पाएपछि दार्चुला प्रशासनले शुक्रबार भारतको पिथौरागढ प्रशासनलाई पत्राचार गरेको छ। सीमा क्षेत्रमा एकलौटी ढंगले एसएसबीले गरिरहेको जलयात्रा रोक्न पनि आग्रह गरिएको सीडीओ उपाध्यायले बताए।
नेपाली प्रशासनको समन्वयविना महाकालीमा एसएसबीको गतिविधि किन गरियो भनेर दार्चुलाको स्थानीय प्रशासनले पिथौरागढ प्रशासनलाई जवाफ मागेको छ। तर अहिलेसम्म भारतीय प्रशासनले दार्चुलालाई जवाफ दिएको छैन।
‘हामीले एसएसबीको जलयात्राको जानकारी पाएपछि भारतीय प्रशासनलाई विना नुमति किन गतिविधि भयो भनेर सोधेका छौँ, यो काम तत्काल बन्द गर्न पत्राचार गरेका छौँ,’ सीडीओ उपाध्यायले भने, ‘तर, भारतीय पक्षले यस बारेमा केही जवाफ दिएको छैन।’
शुक्रबार भारतीय प्रशासनलाई गरिएको पत्राचारको बोधार्थ गृह मन्त्रालयलाई पनि दिइएको छ। तर महाकालीमा अझै एसएसबीको जलयात्रा रोकिएको छैन।महाकालीको जलयात्रा गरिरहेका एसएसबी टोली महाकालीको तीरसँगै रहेका सुदूरपश्चिमको दार्चुलाको जोलजिवी, बैतडीको झुलाघाट, पञ्चेश्वर, डडेल्धुराको परशुराम हुँदै कञ्चनपुरस्थित सीमावर्ती क्षेत्र टनकपुर ब्रह्मदेव पुग्ने योजनामा छ।
सीमा क्षेत्रमा बलमिच्याइँ गर्दै आइरहेको भारतीय पक्षको यो गतिविधिलाई सुरक्षा निकायले सैन्य गतिविधिकै रुपमा विश्लेषण गरेका छन्।‘साहसिक अभियानको नाम दिइए पनि यो एक प्रकारको सैन्य गतिविधि नै हो, सीमा नदीमा अनुमतिविना यस्ता गतिविधि गर्नु दादागिरी मात्रै नभएर दबाबमा राख्ने र हेपाहा प्रवृत्तिका रुपमा बुझेका छौँ,’ सुरक्षा स्रोतले भन्यो, ‘मनोवैज्ञानिक दबाबमा राख्न सीमा क्षेत्रमा यस्ता गतिविधि हुने गरेको देखिन्छ।’
उत्तराखण्डस्थित एसएसबीको रानीखेत मुख्यालयको टोली महाकालीको जलयात्रा गरिरहेको छ। टोलीमा राजेश ठाकुरको नेतृत्वमा महिला र पुरुष गरेर ५२ जना एसएसबी छन्।