धनगढी, २७ माघ/कैलालीको चुरे गाउँपालिकामा राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा एक खेलाडी घाईते भएकी छन् । कबड्डी खेलमा सहभागि उक्त शुक्र मावि खानिडाँडा विद्यालयकी छात्रा निरा धामी टाउकोमा चोट लागेर घाईते भएकी छन् ।
चुरे गाउँपालिका – १ अलाडमा रहेको भैरव माध्यमिक विद्यालयमा संचालन भएको कबड्डी प्रतियोगिता खेलाडी घाइते भएकी हुन् । खेलाडीलाई उपचारको व्यवस्था नभएको भन्दै शुक्र मावि खानिडाँडा प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगितामा दुर्घटनाको जोखिम हुन सक्ने खेल खेलाइएका भएपनि प्राथमिक उपचारको समेत व्यवस्था नगरिएपछि सहभागि एक विद्यालय प्रतियोगिताबाटै बाहिरीएको छ । घाईते बिद्यार्थी धामी टाउकोमा चोट लागेर बेहोस हुँदा पनि उपचारको व्यवस्था नभएको भन्दै प्रतियोगिताबाट बाहिरीएको शुक्र माविका विद्यालय अविभावक संघका अध्यक्ष कृष्ण प्रकाश सापकोटाले जनकारी दिएका छन् ।
उनले हचुवाको भरमा खेलाइएको खेलमा सहभागि नुहुने भन्दै आफ्ना विद्यालयबाट सहभागि विद्यालयलाई फिर्ता बोलाएको बताएका छन् । ‘हचुवाको भरमा खेल खेलाइन्छ भने हामी सहभागि हुदैनौ भनेर आफ्ना विद्यालयका विद्यार्थी फिर्ता बोलाएका छौ । हामी अधुरोमा खेल छोडेर आएका छौ । खेलाडी असुरक्षित भएपछि हामीले खेलाडी फिर्ता बोलाएका हौ’ उलने भने ‘प्रतियोगितामा लगानी पनि छ । गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा गम्भिर लापरवाही गरेको देखियो । खेल आयोजना गरेपछि कम्तिमा प्राथमिक उपचारको व्यवस्था गरिनु पथ्र्यो ।’
उनले दुर्गम ठाउँमा आयोजना गरिएको प्रतियोगितामा स्वास्थ्यको ख्याल नगरिनु गम्भिर त्रुटी भएको बताए । उनले विद्यार्थी घाइते भएपछि पनि उपचारमा आनाकानी गरेपछि विद्यालयबाट गएका सरहरुले नै घाइते विद्यार्थीलाई अस्पताल पुगाएको बताए ।शिक्षा शाखा प्रतिनिधि मदनराज जोशीले भने टाउकोमा चोट लागेर खेलाडी घाइते भएपछि आफूहरुले एम्बुलेन्समा धनगढी पठाएको बताएका छन् । चुरे गाउँमालिका अध्यक्ष चक्र बहादुर बोगटीले पनि गाउँपालिकाकै एम्बुलेन्समा राखेर मायामेट्रो अस्पताल धनगढीमा लगेर उपचार गराइरहेको बताए । उनले छात्राको सबै उपचार गाउँपालिकाले नै व्यहोर्ने बताए ।
‘टाउकोमा चोट लागेको थियो । सिटी स्क्यान गराउँदा समस्या देखिएन् । आजै रिफर हुन्छन होला’ उनले भने ‘विद्यालयले त्यतीकै विवाद झिकेर विद्यार्थी फिर्ता बोलाए । खेलका क्रममा चोटपटक लाग्नु स्वभाविक नै हो । उपचार हामीले गर्छै भनेका हौ । उहाहरुले सबै खेलमा सहभागित नजनाउने भनेर विद्यार्थी फिर्ता लगेर गए ।’ उनले प्रतियोगिता संचालन गर्दा प्राथमिक उपचारको व्यवस्था गर्न नसक्नु भने त्रुटी भएको स्विकार गरे । चुरेमा बुधबार देखि सुरु भएको प्रतियोगिता शसक्रबार समापन गरिएको छ । प्रतियोगितामा ८ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स लगायतका खेल खेलाइएको छ ।