धनगढी, १० माघ/बाजुराकी २६ वर्षीया एक गर्भवतीको मृत्युको खबर चर्चामा छ । पैसाको अभावमा एम्बुलेन्सको भाडा तिर्न नसकेर सार्वजनिक बसमा अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको भन्दै सामाजिक सञ्जालहरुमा अनेक बहस चलिरहेका छन् । के पैसाकै अभावमा गर्भवतीको मृत्यु भएको हो त ।
बडीमालिका नगरपालिका–१ पिनालेककी जानकी विकको उपचारका लागि भारत लैजाने क्रममा सोमबार दिउँसो अछामको चौखुट्टेमा मृत्यु भएको थियो । गर्भवती अवस्थाकी विकको आउँदो चैत अन्तिम साता डेलिभरी डेट थियो । जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीकाअनुसार विकलाई गम्भीर प्रकारको मुुटुरोग पहिल्यैदेखि थियो ।
लामो समयदेखि मुुटुमा समस्या भएकी उनको भारतमै शल्यक्रियामार्फत् मुटुको भल्भ फेरिएको थियो । भारतीय चिकित्सकहरुले उनलाई गर्भवती हुन जोखिम रहेको सुझाव दिएका थिए । मुटुकै उपचारको क्रममा विक बेलाबेलामा जिल्ला अस्पताल आइरहन्थिन्, डेढ महिनाअघि उनलाई थप उपचारका लागि विशिष्टीकृत अस्पताल लैजान सिफारिस गरिएको थियो । तर यसअघिको उपचार पनि भारतमै भएको र थप उपचारका लागि भारतै नै लैजाने जिद्धी विक परिवारले गर्दै आएका थिए ।
यसपटटक भने जानकीलाई उनका श्रीमानले गम्भीर अवस्थामा आइतबार जिल्ला अस्पताल लिएर आएका थिए । “अस्पताल ल्याइपुर्याउँदा उहाँलाई आइसीयुमा राख्नुपर्ने अवस्था थियो, हामीकहाँ आइसीयु नभएपछि धनगढीको सेती अस्पतालमा आइसीयु बेडका लागि कुरा गरेका थियौँ, त्यतिबेला उहाँहरुले पैसा भए नभएकोबारे केही बताउनुभएन” गिरीले भने ।
आर्थिक अवस्था कमजोर भएका बिरामीलाई जिल्ला अस्पतालले एम्बुलेन्सको व्यवस्था गरेर पठाउने गरेको उनको दाबी छ । सोमबार दिउँसो एक बजे बाजुरा सदरमुकाम मार्तडीबाट भारतका लागि लैजान लागिएकी जानकीको अछामको चौखुट्टे आइपुग्दा मृत्यु भएको थियो ।
मृतक जानकीको शव जिल्ला अस्पताल बाजुराको शव बहानमार्फत् आज बिहान पिनालेक लगि परिवारलाई जिम्मा लगाइएको थियो । तर भौगोलिक विकटता, यातायातका साधनको अभाव, कम जनशक्ति, उपकरणको अभाव जस्ता कारणले बाजुरामा बर्षेनी दुईदेखि चारजनाको सुत्केरी गराउने क्रममा नै मृत्यु हुने गरेको गिरी बताउँछन् ।