धनगढी, २ माघ/नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ अचानक धनगढी आइपुगेकी छिन् । धनगढी पुगे लगत्तै उनले आफ्ना प्रदेश सांसदहरूलाई बैठकमा बोलाएकी छिन् । धनगढीको एक होटलमा अध्यक्ष श्रेष्ठ र सांसदहरूबीच भेटवार्ता चलिरहेको छ ।उन्मुक्तिका सांसदले भोट नदिँदा २ पटकसम्म सभामुख पाउन नसकेको सुदूरपश्चिम प्रदेश सभा बस्नु एक दिन अगाडि अध्यक्ष श्रेष्ठले आफ्ना सांसदहरूसँग छलफल सुरु गर्नुलाई तर्कपूर्णरूपमा हेरिएको छ ।
भोलि हुने सभामुखको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार माओवादीका भीमबहादुर भण्डारीलाई भोट दिने उन्मुक्तिका अध्यक्ष श्रेष्ठले बताइन् । उनले अहिले बैठक चलिरहेको बताए पनि आफ्नो पार्टीको समर्थन भण्डारीलाई रहने जानकारी दिइन् । सरकारमा सहभागिता जनाउनेबारे भने छलफलपछि मात्रै टुंगो लाग्ने बताइन् ।यसअघि दुई पटकसम्म बहुमत पुर्याउन नसकेर सभामुख निर्वाचन हुन नसकेको सुदूरपश्चिम प्रदेशमा आज पुन सभामुख निर्वाचन सकेर उपसभामुखको पनि निर्वाचन गर्नुपर्ने बाध्यता रहेको थियो । तर, आज देशभर शोक बिदा दिइएकाले निर्वाचनको प्रक्रिया स्थगित गरिएको प्रदेश सभा सचिवालय सुदूरपश्चिम प्रदेशले जानकारी यसअघि नै गराइसकेको छ ।
प्रदेशमा कांग्रेसबाट मानबहादुर रावल र माओवादी केन्द्रबाट भीमबहादुर भण्डारी सभामुखका लागि उम्मेदवार छन् । यसअघि माघ २८ र ३० गते भएको निर्वाचनमा दुवैले बहुमत ल्याउन सकेका थिएनन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ ।