काठमाडौं/ सहारा क्लबको आयोजनामा हुने आहा रारा गोल्डकपको २२ औँ संस्करणमा नेपाली राष्ट्रिय फुटबल टिमका रक्षक अनन्त तामाङ सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित हुने भएका छन् ।
आयोजक सहारा क्लबले आहा रारा गोल्डकपको आयोजना हुँदा एक राष्ट्रिय फुटबल खेलाडीलाई सर्वोत्कृष्ट खेलाडीको रुपमा सम्मान गर्दै आएको छ । यस संस्करणमा अनन्तलाई यो पुरस्कारबाट सम्मान गरिने सहारा क्लबले जनाएको हो ।यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन बिष्ट यो पुरस्कारबाट सम्मानित भएका थिए । अनन्त ५० हजार पाँच रुपैयाँ नगदसहित सम्मानित हुनेछन् ।
आहा रारा गोल्डकपको २२ औँ संस्करण पुस १४ गतेदेखि २३ गतेसम्म पोखरा रंगशालामा हुने तालिका सार्वजनिक भइसकेको छ । प्रतियोगिता आयोजनाका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लबले जनाएको छ ।यसपटक पनि हिमश्री फुड्सको उत्पादन आहा रारा तयारी चाउचाउ प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ । यसपटक प्रतियोगिताबाट आम्दानी एक करोड ५९ लाख ५० हजार रुपैयाँ हुने र खर्च एक करोड १३ लाख ५६ हजार रुपैयाँ हुने सहाराको अनुमान छ ।
प्रतियोगिताको २२ औँ संस्करणमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटानिज युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस फुटबल क्लब, संकटा क्लब र आयोजक सहारा क्लब पोखरा गरी १० टिमको सहभागिता रहनेछ । एपीएफ प्रतियोगिताको साविक विजेता हो ।
प्रतियोगिताको २२ औँ संस्करणको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउँने छन् ।यस्तै, प्रतियोगिताको उच्च गोलकर्ताले २५ हजार, प्रत्येक खेलको म्यान अफ दी म्याचलाइ आठ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।प्रतियोगिताभर एक लाख बराबरको चाउचाउ मुख्य प्रायोजकले निस्शुल्क वितरण गर्ने आयोजकले बताएको छ । प्रतियोगितोको प्रिक्वार्टर र क्वार्टरफाइनलका लागि साधारणतर्फको टिकट दर १०० रुपैयाँ, सेमिफाइनलका लागि २०० रुपैयाँ र फाइनल खेलका लागि ३०० रुपैयाँ राखिएको छ । यस्तै, भीआईपीतर्फको प्याराफिटमा प्रिक्वार्टर र क्वार्टरफाइनलका खेलका लागि २००, सेमिफाइनलका लागि ४०० र फाइनल ५०० रुपैयाँ राखिएको आयोजकले जनाए ।