बैतडी, २० कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर बैतडीका सबै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ । निर्वाचनको मिति नजिक आइरहेको बेला मतदान कसरी गर्ने भन्ने विषयमा जानकारी दिनका लागि कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए ।
जिल्लाका १० ओटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको जिल्ला निर्वाचन अधिकारी फुँयालले बताए । हरेक पालिकाले स्थानीयस्तरमा रहेका कक्षा १० उत्तीर्ण गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गरेको उनले बताए । स्थानीय तहहरुले हरेक वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
आगामी मंसिर १ गते सम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । मतदाता शिक्षा कार्यक्रमको अनुगमनका लागि प्रत्येक पालिकामा एक जना निर्वाचन फोकल पर्सन खटाइएको छ ।
मतदाता शिक्षा कार्यक्रम मत बदरको संख्या घटाउन सहयोग पुग्ने फुँयालले बताए । यस्तै जिल्ला निर्वाचन कार्यालयले बैतडीका सबै स्थानीय तहमा नमुना मतदान कार्यक्रम सञ्चालन गरेको छ ।
यसपटक मतदाताले चार मतपत्रमा छाप लगाउनुपर्ने भएकोले धेरै सख्यामा मत बदर हन सक्ने सम्भावना रहेकाले मत बदरको सख्या कम गर्नका लागि नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको निर्वाचन अधिकारी फुँयालले बताए ।
मतदान गर्ने तरिकाबारे जानकारी दिनका लागि नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको र नमुना मतदानमार्फत मतदानका विषयमा आवश्यक जानकारी दिइन लागिएको हो ।
