धनगढी, १९ कात्तिक । प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा १७ हजार सात सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचनको सुरक्षाका लागि ११ हजार ५ सय ५९ म्यादी र ६ हजार एक सय ६८ प्रहरी तैनाथ रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
सबैभन्दा बढी कैलालीमा म्यादी प्रहरी परिचालन गरिएको छ। जिल्लाभित्र हुने निर्वाचन सुरक्षाका लागि २ हजार ८ सय १२ म्यादी प्रहरी परिचालन गरिएको हो। प्रहरी प्रधान कार्यालय, निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार सुरक्षा व्यवस्थाका लागि आवश्यक प्रबन्ध गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए। ‘माथिबाट भएको निर्देशनअनुसार सुरक्षा परिचालन गर्ने हो, जिल्लाले यसमा थपघटन गर्ने अवस्था रहँदैन, सुरक्षा संवेदनशिलताको आधारमा सुरक्षा सतर्कता बढाइनेछ,’ उनले भने।
कैलालीमा प्रतिनिधि सभाका पाँच र प्रदेश सभाका १० निर्वाचन क्षेत्र छन्। प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभाका लागि २ सदस्य निर्वाचन क्षेत्र रहेको बाजुरामा सबैभन्दा कम ७ सय ४९ जना म्यादी प्रहरी खटाइएको छ। प्रतिनिधि सभाका लागि दुई र प्रदेश सभाका लागि ४ सदस्यको निर्वाचन हुने अछाममा एक हजार दुई सय ६८ म्यादी प्रहरी खटिएका छन्। यस्तै, बैतडीमा एक हजार १९१, बझाङ्गमा एक हजार १८८, डोटीमा नौ सय ५३ डडेल्धुरामा नौ सय ३७ र दार्चुलामा ८ सय २९ म्यादी प्रहरी खटाईएको छ।
प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेत निर्वाचन सुरक्षामा तैनाथ हुने प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ उपरिक्षक भोलाबहादुर रावलले बताए। उनले भने, ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा सतर्कता उच्च पारिएको छ, म्यादी प्रहरी आवश्यकताको आधारमा खटाइसकिएको छ।’